उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तकोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भएका छन् । बिहीबार सभामुखसहित ४७ सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख खापुङद्वारा जारी नियुक्ति पत्रमा उल्लेख छ ।थापालाई माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीको साथ रहेको थियो । थापाले कांग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको पनि समर्थन रहेको दावी पत्रमा उल्लेख गरेका थिए ।तर, सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन असंवैधानिक हुने भन्दै एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।