क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो । नालामाथि बनेको संरचना आफै हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि मेयर सिंह आज डोजर लिएर पुगेका हुन् ।
जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ । हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अवरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो ।
यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ । वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।
गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुवै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लास्सिक होटल र कर्पोरेट डेभलपमेन्ट बैँकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लास्सिक होटल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाइ गरिसकिएको छ ।
राष्ट्रिय वाणिज्य बैँक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गरिसकिएको छ । महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाउँदै सफाइलाई तिब्रता दिँदै आएको छ । वर्षौँदेखि मुख्य नाला सफाइ नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाइ गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।
मधेश प्रदेश
