नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर र शुल्कहरू आजबाट कार्यान्वयनआजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । यससँगै बजेटले निर्धारण गरेका नयाँ व्यवस्था कार्यान्वनमा आएका छन् ।नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न करसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा भएको संशोधन आजदेखि लागू भएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्नेछ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा दुई प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागू हुनेछ । जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ । वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको एक प्रतिशत शुल्कको व्यवस्था पनि आजदेखि नै कार्यान्वयनमा आउनेछ ।गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।