निर्माण व्यवसायीमाथि खुकुरी प्रहार:तीनजना पक्राउ :-रुपन्देही । बुटवलको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएकोछ ।बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका थिए । घाइतेको उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ।कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रिकालीन व्यवसाय जम्ने गर्दछ। तर दिउँसै युवामाथि सडकमा खुलमखुला खुकुरी प्रहार भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ।रात्रिकालीन बजार चलेकै अवस्थामा युवाबीच हानाहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गर्नुले बुटवलको सुरक्षा व्यवस्थाप्रति सबैले प्रश्न उठाएका छन्।दिउँसै खुकुरी नचाउँदै सडकमा हानाहान गर्नुले बुटवलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय हरि अर्यालले बताए। नागरिकमा त्रास पैदा गरेको भन्दै सुरक्षाको प्रत्याभूति दिन उनले प्रहरी गम्भीर भएर लाग्नुपर्ने बताए।सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए।पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले बताए। प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट सोमबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ।दर्जन बढीको समूहमा आएका युवाले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इँटालगायत हतियार प्रयोग गरी खत्रीलाई आक्रमण गरेको पीडित पक्षले आरोप लगाएका छन्।