Wednesday, February 5, 2025

कुटपिट गर्ने भेटवाल १ लाख धरौटीमा छुटे

ताजा / भरखरै प्राप्त

विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विराटनगर महानगरपालिका-४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ ।
साइकलमा घर फर्किरहेका बेला विराटनगर-६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए ।गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए ।
साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए । साहले प्रयोग गर्ने साइकल आयुषका भाइ (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरु गएका थिए ।
सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो । उनी उपचारपछि घर फर्किएका छन् । घटनापछि फरार रहेका आयुष भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए । उनका भाइ भने अझै फरार छन् ।
कारमा सवार भेटवाल दाजुभाइले कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका-४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए । प्रहरीले भेटवाल दाजुभाइसँगै कार चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।
आयुषका १७ वर्षीय भाइका विरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो । गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटवालले प्रहरीसमक्ष बयान गरेका थिए ।उनको कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।साभार।

Previous article
कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउधनुषा, गणेशमान चारनाथ नगरपालिका-५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् ।घरायसी बिबादका कारण ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles