नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवं जीवनको अधिकार सुनिश्चतता गर्न, डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने कार्यमा तीनै तहका सरकार बीच प्रभावकारी समन्वय र सहकार्य गर्न तथा डेंगी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
आयोगले डेंगीको संक्रमण बढ्दै जाँदा पछिल्ला एक महिनामा मात्रै संक्रमितको संख्या १२ हजार नाघिसकेको र आठ जनाको ज्यान समेत गइसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।
पछिल्लो एक महिनामा बिरामीहरूको संख्या तीव्र रुपमा बढिरहेको अवस्थामा रोगको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरू संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको, तीन तहका सरकार बीच प्रभावकारी समन्वयमार्फत डेंगी फैलाउने लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेको जस्ता विषयहरू सञ्चार माध्यममा आउनुका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारीहरू प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा (१६) ले प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्ने तर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यतिबेला डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ ।
यो वर्ष डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा र दार्चुला छन् ।
मानव अधिकार आयोग
डेंगी
