काठमाडौं। खाली चेक काटेर दिने ( चेक बाउन्स) ह्वात्तै बढेर गएको छ। एक वर्षको अवधिमा देशभर ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७ सय ७९ रुपैयाँ बराबरको खाली चेक दिएको पाइएको हो।गत आर्थिक वर्षमा नेपाल प्रहरीले चेक बाउन्सका १२ हजार ३० वटा मुद्दा सरकारी वकिल मार्फत अदालतमा बुझाएको छ। जसमा ४७ अर्ब रुपैयाँ बराबरको चेक काटिएको थियो।गत आर्थिक वर्षमा चेक बाउन्समा भएको वृद्धि पाँच वर्ष अघिको तुलनामा पाँच गुणाले बढी हो। आर्थिक वर्ष २०७५/७६ मा २ हजार ९६६ वटामा चेक बाउन्सका मुद्दा अदालतमा दर्ता भएका थिए जसमा बाउन्स भएको रकम १ अर्ब ४६ करोड ६२ लाख ४४ हजार ७९० थियो।
यसरी हेर्दा पाँच वर्षमा बाउन्स रकमको वृद्धि भने करिब ४५ गुणाले बढेर गएको छ। चेक बाउन्सको रकम बढेसँगै आर्थिक अपराधको तथ्यांक बढेर गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेरबहादुर कडायतले बताए।
‘आर्थिक अपराधमा सबै भन्दा धेरै चेक बाउन्स भएको देखिएको छ। यसका विभिन्न कारणहरू देखिएका छन्,’ डिआइजी कडायतले भने।
आर्थिक वर्ष २०७६/७७ मा ३ हजार २७५ वटा चेक बाउन्सको मुद्दा दर्ता भएका थिए। जसमा २ अर्ब ६० करोड ५४ लाख ४९ हजार ८५४ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको देखिएको छ। जसमा ८५० पुरुष र २२३ जना महिला नेपालीहरू समातिएका थिए। विदेशी नागरिक समेत ७७ जना समातिएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १२ करोड रुपैयाँ बराबरको खाली चेक काटिएको छ। जसमा प्रहरीले फौजदारी अभियोगमा सरकारी वकिल मार्फत ९ सय जनालाई अभियुक्त बनाएर अदालतमा टेकाएको थियो। यसरी हेर्दा प्रत्येक वर्ष चेक बाउन्समा काटिने रकमको सङ्ख्या बढ्दै भएको छ।
२०७८/७९ मा ५ हजार ३७० वटा चेक बाउन्सका मुद्दा दायर हुँदा ६ अर्ब ७१ करोड ९२ लाख ८५ हजार २२९ रुपैयाँ बराबरको खाली चेक काटिएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
यसरी चेक बाउन्स हुने केसमा एउटै चेकमा २ करोड रुपैयाँ भन्दा बढी रकम भएको देखिन्छ। त्यसो त पछिल्लो समय विभिन्न निर्माण व्यवसायीका सबैभन्दा धेरै रकम भएका चेक बाउन्स भएका छन्। केही साताअघि मात्र जिल्ला प्रहरी परिसर काठमाडौंमा एक ठेकेदारको २६ करोड रुपैयाँ बराबरको चेक बाउन्ससँगै जोडिएको ठगी केस अदालतमा दर्ता भएको थियो।
मुद्दा संख्या र चेक बाउन्सको रकम बढेसँगै प्रहरी कारबाही पनि बढेर गएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रहरीले चेक बाउन्सको अभियोगमा १ हजार १४४ जनालाई पक्राउ गरेको थियो। पाँच वर्षको अवधिमा यो संख्या बढेर २ हजार ३ सय ४१ पुगेको छ। समातिनेहरूमा विदेशी नागरिक समेत रहेका छन्।
सबैभन्दा धेरै चेक बाउन्सको मुद्दा जिल्ला अदालत काठमाडौंमा पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा दायर गरेको छ। काठमाडौंमा गत आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरका घटना करिब १०० प्रतिशतले बढेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ७ हजार १०१ वटा मुद्दा अदालतमा दर्ता गराएको छ। उसले बैंकिङ कसुरमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ७१५ मुद्दा अदालत लगेको थियो। २० हजार देखि करोड रुपैयाँसम्मका चेक बाउन्स हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए।
‘यहाँ २० हजार रुपैयाँदेखि करोडसम्मका काटिएका चेक बोकेर आउनुहुन्छ। खातामा पैसा नभए पनि ठगीको लागि नै चेक काटिएको हुन्छ,’ एसएसपी कार्कीले भने।दोलखाका ३५ वर्षीय दिनेश कोइरालाविरुद्ध पाँच वर्षमा बैंकिङ कसुरका २० वटा मुद्दा दर्ता भएका देखिएका छन्। सबै मुद्दाहरू काठमाडौंबाट नै चलेका छन्। उनले धेरै मानिसलाई हजारौंका खाली चेक काटेर दिएका थिए।साभार।
