धरानका धेरै क्षेत्रमा आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । धरान प्रवेश गर्ने मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । प्रहरीले सुनसरीको धरानतर्फ जाने सवारीसाधनलाई इटहरीमै रोकेको छ । यात्रुवाहक र हलुका सवारी पनि रोक लगाइएको छ । मोटरसाइकल पनि चल्न रोक लगाइएको छ ।
‘गोरुको मासु खाँदै गरेको’ फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दुवादीहरुले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिबार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
यसै बीच इटहरीमा धार्मिक अभियन्ताले प्रदर्शन गरेका छन् । हिन्दु अभियानले सामाजिक सद्भाव कायम राख्न भन्दै प्रदर्शन गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको बताए ।
