शुल्क वृद्धि फिर्ताको माग गर्दै चापागाइँ यही भदौ १० गतेदेखि पुल्चोक क्याम्पसको डीनको कार्यालय अगाडि आमरण अनसन बसेका थिए । उनको स्वास्थ्य गम्भीर बनेपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ । उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको नेविसंघले जनाएको छ ।
माग सम्बोधनबारे सरकार मौन बसेको भन्दै नेविसंघले आचार्यको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।माग पूरा नभएसम्म आमरण अनसन नतोड्ने अडान उनको छ ।
नेविसंघले माग पूरा गर्न मंगलबार डीनको सांकेतिक शव यात्रा निकालेको थियो । बुधबार त्रिविको भीसी कार्यालय अगाडि विराेधस्वरूप नेविसंघले हवन समेत गरेको छ । अनसनरत विद्यार्थी नेता चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले बताएका छन् ।नेविसंघले यसअघि शुल्क फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रधानमन्त्री निवासमा प्रदर्शन गरेको थियो ।
वृद्धि शुल्क फिर्ताको माग गर्दै पुल्चोक क्याम्पसमा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनसन जारी राखेका छन् । माग पूरा नभएसम्म अनसन जारी रहने ति संगठनहरुले जनाएका छन् ।
इन्जिनियरिङ शिक्षा अध्ययनमा स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । आवश्यकता र औचित्यबिना मनपरी तवरले शुल्क बढाएको भन्दै खारेजीको विकल्प नरहेको उनीहरुको भनाइ छ ।
