पोखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जानकारी दिए । ‘सहकारी पीडितहरुको जाहेरी निवेदन परेको छ । अब यस विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।सूर्यदर्शन सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो ।
पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।
