Saturday, April 19, 2025

नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्म जयन्तीकाे अवसरमा आयोजना गर्ने साहित्य महोत्सवलाई भव्य बनाउने भएको छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीका सबै भातृ संगठनहरुलाई परिचालन गरिने भएको छ । कांग्रेसले भदौ २४ देखि २६ गतेसम्म बीपी साहित्य महोत्सव आयोजना गर्न लागेको हाे ।

ताजा / भरखरै प्राप्त

आइतबार पार्टी कार्यालय सानेपामा केही पदाधिकारीसहित बसेको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका सबै भातृ तथा शुभेच्छुक संघसंस्थाहरू परिचालन गर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न भोलि सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरिँदैछ ।

यो कुनै पनि राजनीतिक दलले यसरी गर्न लागेको महोत्सव पहिलो रहेको र ऐंतिहासिक महोत्सव हुने साहित्य महोत्सवका संयोजक एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. बद्री पाण्डेले बताए । महोत्सवमा साहित्य लगायत विभिन्न क्षेत्रका विज्ञहरुबीच दैनिक ४ वटा सेसन हुने संयोजक पाण्डेको भनाइ छ ।

महोत्सवमा बीपी कोइरालाको साहित्यप्रति रुचि, उनको जीवन, दर्शन र नारी प्रतिको दृष्टिकोण समेत चित्रण गरिनेछ । यसलाई सफल बनाउन पार्टीका युवा परिचालन हुनेछन् । बीपीको योगदानबारे युवा पुस्तालाई जानकारी दिन साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने पाण्डेले बताए ।

महोत्सवमा वृत्तचित्र, कला तथा विभिन्न प्रकारका चित्रहरूको समेत प्रदर्शनी पनि रहनेछ । यस अवसरमा हेल्थ डेस्क, बुक स्टल, टिसर्ट, ब्याच समेतको प्रदर्शनी र बिक्री वितरण गरिनेछ । महोत्सवमा सेल्फी पोइन्ट, ऐतिहासिक चित्र प्रदर्शनी समेत गरिनेछ । आयोजकले ३ दिनमा १५ हजारभन्दा बढीको सहभागिता रहने जनाएको छ ।

महोत्सव तयारीका बारेमा आज आइतबार पार्टी कार्यालय सानेपामा आयोजक समिति र सूचना, सञ्चार तथा प्रचार विभागबीच छलफल गरिएको थियो । आयोजक समितिका संयोजक पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए । यस्तै, प्रचार विभागका प्रमुख मीन विश्वकर्माले महोत्सवको तयारीमा जुट्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस
महोत्सव
बीपी कोइराला

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles