सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो ।
सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि रु एक सय टिकट दर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।
खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो । यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते रु एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते रु तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताए । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।
