हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका बिरुद्ध, साझा दुश्मनका बिरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने कुरा सावित गर्नुपर्ने बताए ।
उनले कम्युनिष्ट आन्दोलनका विगतका कुरालाई कोट्याएर नभइ सबै कम्युनिष्टहरुका भंगाला एक हुनुपर्ने बेला आएको बताए । कम्युनिष्ट समूहहरु अब बिस्तारै फेरि एउटमै मूलधार, केन्द्रमा एउटै धारामा समाहित हुने परिस्थिति बनेको बताउनु भयो । उहाँले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्न नहुने उनले बताए ।
उनले भने, ‘म तपाईहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । हामी यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने ठाउँमा, समाजवादी गणतन्त्र बनाउने ठाउँमा अघि जानको लागि हामी एकजुट हुनुको कुनै विकल्प छैन, कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन्, भन्ने नेरेटिभ भन्ने भाष्य जो बनाउन खोजिएको छ । होइन, कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका बिरुद्ध, साझा दुश्मनका बिरुद्ध लड्न त्यत्तिकै सिपालु छन्, भन्ने सावित गर्ने यो अवसर छ । हामी कम्युनिष्ट आन्दोलनका विगतका कुरा छोडौँ, केही समयको मात्रै कुरा गर्ने हो भनेपनि हामी एउटा मुल धारबाट विभाजित भयौँ । विभिन्न भंगाला हुँदै हामी अघि बढ्यौँ । अहिले मेरो अपिल के छ भने त्यही विभाजित भए विभिन्न भंगाला हुँदै अघि बढेका कम्युनिष्ट समूहहरु अब बिस्तारै फेरि एउटमै मुलधार, केन्द्रमा एउटै धारामा समाहित हुने परिस्थिति बनेको छ । यो परिस्थितिमा हामीले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्ने, त्यो गल्ती हामीले बिल्कुल गर्नु हुँदैन ।’
प्रधानमन्त्री दाहालले निरंकुश राजतन्त्रवादीहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य नभएको बताए । उनले कम्युनिष्ट कमजोर हुँदा विपक्षीहरुले शिर उठाउने कुचेष्टा गरिरहेको बताए । उनले समाजवादी मोर्चाले केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर लाखौँ जनतालाई सडकमा उतार्ने बताए ।
उनले भने, ‘तपाईहरुले कहिले कहीँ सोसल मिडिया हेर्ने हो भने सुन्नै नसकिने, चित्र हेर्नै नसकिने, लाजै मर्नु त्यस्तो हेर्नु परिरहेको छ । किनकी हामी अलि कमजोर देखिएपछि कसरी प्रतिक्रान्तीहरुको मनोबल उठ्दो रहेछ, पूरा होहल्ला गरेर अब अस्ति त काठमाडौंमा खुकरी हान्ने, निरंकुश राजतन्त्रका दलालहरु, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य घटना होइन, सबै सचेत हुनुपर्छ । यो मोर्चा सन्देश सभाको रुपमा छ, हल भित्र जम्मा भएका छौँ । केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर हामीले लाखौँ जनतालाई सडकमा ल्याउँछौँ । सामन्ती दलाललाई जनताको तागत सात्तो जाने गरी प्रदर्शन गर्नेछौँ ।’
प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर कारबाही गर्नेकुरा एउटा प्रधानमन्त्रीले नसकिने बताए । उनले आफूले देशमा समृछिको लडाईं छेडेको र कति समय प्रधानमन्त्री हुन्छु भन्ने डर नभएको बताए ।साभार।
