Monday, April 21, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवनभर लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताका निम्ती लडेका नेता र पार्टीहरू रक्षात्मक हुनेजस्तो परिस्थिति देखिएको भन्दै त्यसलाई परिवर्तन गर्न आन्दोलन आवश्यक भएको बताएका छन् । उनले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना तोड्नुपर्ने बताए ।

ताजा / भरखरै प्राप्त

उनले गणतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्रताका लागि लडेका राजनीतिक दलहरूको पक्षमा जनता रहेको र त्यसको भान पार्नुपर्ने बताए । प्रचण्डले सामाजिक सद्भाव भत्काउन र व्यवस्था परिवर्तन गर्न चाहनेहरूलाई जवाफ दिनुपर्ने बताए । समाजवादी मोर्चा गठन भएको र त्यसको लक्ष्य ठूलो रहेको पनि दाहालको भनाइ थियो ।

निरंकुशताको पक्षमा नयाँ शक्तिहरू देखिएको पनि आरोप लगाए । ’जिन्दगीभरको राजनीति गणतन्त्र, लोकतन्त्र, क्रान्ति, स्वतन्त्रताको निम्ति भनेर लागेका पार्टी रक्षात्मक जस्तो, हिजोअस्ति हावाहुरी भएर आएकाहरू बडो पार्टीजस्तो,’ उनले भने । सामाजिक सञ्जालमा विकृतिको पक्षपोगण गर्नेहरू राजनीतिक नेताजस्ता भएर गइरहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने दाहालको भनाइ थियो । त्यस्ता व्यक्तिहरू ’निरंकुशताका दलाल’ भएको उनको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको पनि विरोध गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । अब बदमासी गर्नेहरूलाई जवाफ दिनुपर्ने पनि दाहालले बताए । समाजवादी मोर्चाले मंगलबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गरेपछि योजनाबद्ध रूपमा अगाडि बढ्ने उनले जानकारी दिए । समाजमा छरिएका भ्रम हटाउनका लागि मोर्चाले काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै, कोशी प्रदेशबाट व्यवस्थाविरुद्ध आवाज उठ्न लागेको हो कि भन्ने लागेको दाहालको भनाइ थियो । ’जहाँ क्रान्ति बलियो हुन्छ, प्रतिक्रान्ति पनि सँगसँगै आइएराख्या हुन्छ । क्रान्तिले सफलता जहाँ प्राप्त गर्छ त्यहीँ प्रतिक्रान्तिले पनि ठाउँ खोजिराख्या हुन्छ,’ उनले भने, ’सामन्तवादका विरुद्ध विद्रोहको झन्डा उठाउने झापाको काँकडभिट्टाबाट इतिहासले मिल्काइसकेका राजा महाराजा आएर बोल्ने साहस गरिरहेका छन् । धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रताका निम्ति लडेको क्षेत्र हो ।’ दाहालले धार्मिक अतिवाद र जातीय विभेदबाट सचेत रहनुपर्ने बताए ।

उनले सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्याे । अनि मात्र हाम्रो जित हुन्छ ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles