Tuesday, October 22, 2024

विराटनगर । भन्सार कार्यालयमा भन्सार जाँचपासमा संलग्न हुँदै आएका भन्सार एजेन्टका प्रतिनिधिहरूलाई चालू आर्थिक वर्षदेखि भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुन कानुनी रुपमा प्रतिबन्ध लागेपछि अधिकांश भन्सार एजेन्टका प्रतिनिधिहरूले विभिन्न निजी उद्योगका प्रतिनिधिदेखि भन्सार एजेन्टको कर्मचारीका रुपमा नियुक्ति बनाएर पछिल्लो समय धमाधम भन्सार जाँचपासमा संलग्न हुन थालेका छन् ।

ताजा / भरखरै प्राप्त

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दा नै भन्सार प्रतिनिधि राख्ने विगतको व्यवस्थालाई ऐनमा नै उल्लेख गरी खारेज गरिदिएका थिए । तर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न विराटनगर भन्सारमा रहेका भन्सार एजेन्टका भन्सार प्रतिनिधिहरूले नयाँ उपाय निकाल्दै उद्योग प्रतिनिधिका रुपमा भन्सार सम्बन्धी काम गर्ने पत्र दर्ता गरी काम गर्न थालेको रहस्य खुलेको छ ।

उनीहरूले एउटा निजी उद्योगको कर्मचारीका रुपमा सम्बन्धित उद्योगको मात्र भन्सार जाँचपास सम्बन्धी काम गर्नुपर्नेमा त्यसो नगरी अन्य उद्योग एवं कम्पनीको पनि जाँचपासका काम गर्न थालेका छन् । उनीहरूले भन्सार एजेन्टको कर्मचारीका रुपमा नियुक्ति लिएर पुरानै तरिकाले भन्सार जाँचपासमा खुलेयाम संलग्न हुन थालेको पाइएको छ ।

विगतका भन्सार प्रतिनिधिहरूले विभिन्न रुपमा पुरानै धन्दा संचालन गर्न थालेपछि विराटनगर भन्सारले त्यस्ता उद्योगका प्रतिनिधि र भन्सार एजेन्टबाट कर्मचारीमा नियुक्ति लिएर आफै एजेन्ट जस्तो भई भन्सार जाँचपासमा संलग्न भएकाहरूको छानविन शुरु गरेको छ ।

भन्सार विभागबाट भन्सार सम्बन्धी जाँचपासको काम गर्नका लागि विभागले दिएको भन्सार एजेन्ट लगिन नम्बर ०६५, ३९२, ९७४, ६३८, ७३७, ९७४ र ९३९ बाट भन्सार जाँचपास हुने वस्तुहरुमा व्यापक अनियमितता हुने गरेको दावी भन्सार स्रोतले गरेको छ । त्यसैको आधारमा पछिल्लो समय विराटनगर भन्सारले पनि उक्त लगिन नम्बरबाट भन्सार जाँचपास हुने सामानमा आफ्नो निगरानी बढाएको दावी गरेको छ ।

उक्त भन्सार एजेन्टको लगिन नम्बर प्रयोग गर्नेहरू सबै विगतमा स्वतन्त्र भन्सार प्रतिनिधिका संगठनदेखि राष्ट्रिय भन्सार परिषद नामका संगठन निर्माण गरी समितिमा बसेका व्यक्तिहरू रहेको खुलासा भएको छ । ती भन्सार एजेन्टका प्रतिनिधिहरूले पछिल्लो समय भन्सार एजेन्टको कर्मचारीदेखि उद्योगको प्रतिनिधिमा नियुक्ति लिएर विराटनगर भन्सारको भन्सार जाँचपासमा संलग्न भएको भेटिएपछि विराटनगर भन्सारले सूक्ष्म अनुसन्धान थालेको बताएको छ ।

उक्त लगिन नम्बर प्रयोग गरी भन्सार जाँचपास गराउने उद्योग प्रतिनिधिदेखि भन्सार एजेन्टका कर्मचारीलाई पटक पटक भन्सार राजश्व छलीको प्रकरणमा सशस्त्र प्रहरीदेखि नेपाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धानमा पुर्याईसकेको दावी समाचार स्रोतले गरेको छ ।

यस बेला विराटनगर भन्सारमा छ महिना अगाडि मात्रै सरुवा भई आएका नयाँ भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकाललाई विगतका पुराना प्रकरणहरुका बारेमा कुनै जानकारी नै नभएको भन्दै उद्योग प्रतिनिधिदेखि भन्सार एजेन्टका कर्मचारीको कार्ड लगाएर खुलेयाम ऐन विपरीत भन्सार जाँचपासमा संलग्न हुने गरेको रहस्य पनि अहिले आएर खुलेको छ ।

कमजोर कानुनी व्यवस्था र छिद्रहरुका कारण विगतमा भन्सार प्रतिनिधि भएकै भरमा भन्सार जाँचपासमा संलग्न हुने कर्मचारी र त्यस्ता प्रतिनिधिहरूबाट व्यापक राजश्व चुहावट हुन थालेपछि सरकारले कानुनी रुपमै भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरिसकेको छ । तर उक्त कानुनी व्यवस्थालाई समेत धज्जी उडाउँदै लामो समयदेखि भन्सार प्रतिनिधिका रुपमा भन्सार जाँचपास गर्दै आएकाहरु नै नयाँ ढंगले खुलेयाम भन्सार जाँचपासमा संलग्न भएको बताइएको छ ।

सरकारले ऐनमा नै उल्लेख गरी भन्सार प्रतिनिधि खारेजी गरेपछि अब उद्योगको प्रतिनिधिदेखि भन्सार एजेन्टको कर्मचारी नियुक्ति भएको बहानामा भन्सार जाँचपासमा सक्रिय भएको सम्बन्धमा आफू जानकार भएर नै त्यस्तालाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा भन्सार विभागमा छलफल चलिरहेको विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले नेपालबहसलाई जानकारी दिएका छन् ।

विगतमा भन्सार एजेन्ट कृष्ण बहादुर थापाले भन्सार प्रतिनिधि बनाएका अरविन्द कुमार ठाकुर र एजेन्ट चेतनाथ पौडेलले प्रतिनिधि बनाएका रविन पौडेललाई पछिल्लो समय कानुनी रुपमा भन्सार प्रतिनिधि दिन नमिल्ने भएपछि थापाले ठाकुरलाई कर्मचारी नियुक्ति गरेका छन भने चेतनाथ पौडेलले रविन पौडेललाई भन्सार प्रतिनिधि कै मान्यता दिएर लगिन नम्बर ०६५ प्रयोग गर्न दिएको दावी पनि स्रोतले गरेको छ । यी दुवै विगतका भन्सार प्रतिनिधिहरु पटक पटक राजश्व अनुसन्धानको कारबाहीमा परिसकेको दावी समाचार स्रोतको छ ।

भन्सार प्रतिनिधि
विराटनगर भन्सार
भन्सार एजेन्ट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles