वीरगञ्ज । वीरगञ्जका झन्डै एक दर्जन व्यापारी फर्ममाथि राजश्व अनुसन्धान विभागले छापामारी गरेको छ । लुज बिल दिएर राजश्व छली गरेको आशङ्कामा राजश्व अनुसन्धान विभाग काठमाडौँबाट आएको टोलीले फर्महरूमा छापामारी गरेर विभिन्न कागजातहरू नियन्त्रणमा लिएको हो । राजश्वको टोलीले गत मङ्गलवारदेखि शुक्रवारसम्म विशेष गरी वीरगञ्जका विभिन्न स्थानमा रहेका हार्डवेयर फर्महरूमा छापामारी गरेको बुझिएको छ । छापामारी गर्ने क्रममा राजश्व टोलीले फर्महरूबाट खाता, कम्प्युटरको हार्डडिस्कलगायत फाइल र सामानहरूसमेत नियन्त्रणमा लिएको छ ।
वीरगञ्जको लिङ्करोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपास रोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरलगायतमा छापामारी भएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । विभागले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ट्रकका चालक र सञ्चालकहरूले दिएको बयानका आधारमा उनीहरूको फर्ममाथि छापामारी गरिएको ढुङ्गानाको भनाई छ ।
राजश्व टोलीले छापामारीमा परेका फर्मका सञ्चालकहरूलाई विभागमा आएर भेट्न निर्देशन पनि दिएको बुझिएको छ । हार्डवेयर एसोसिएसन वीरगञ्जका सचिव अनिल सर्राफका अनुसार फर्मका सञ्चालकहरूलाई विभागको कार्यालयमा आउन निर्देशन दिइएको छ ।
छापामारी भएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारीले आर्थिक मन्दीले मारमा परेका उद्योगी व्यवसायीलाई अनावश्यक रूपमा राजस्व विभागले दुःख दिएको प्रतिक्रिया दिए ,!
