Sunday, June 29, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताएका छन् । चीनबाट स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले दुवै भ्रमण सफल भएको बताएका हुन् । प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताए ।

ताजा / भरखरै प्राप्त

नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाइ उडान गर्ने र दुई देशको हवाइ उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ’ उनले भने ।

भ्रमणका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको उनले बताए । करिब ४ वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले बेला आफ्नो भ्रमण हुनु महत्वपूर्ण रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ’समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु । चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ ।’

उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको पनि उनको भनाइ छ । उनले अगाडि भने, ’राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ, नेपाल र नेपाली जनताप्रति चीनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ ।’

त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु–याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम भएको पनि प्रधानमन्त्री दाहालले बताए । नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको पनि उनको भनाइ छ ।

दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क प्रस्थान गरेका थिए । उनले असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा भएको स्वागत समारोहमा सहभागी भएका दाहालले राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग समेत भेट गरेका थिए ।

न्युयोर्कको ५ दिने भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज ५ गते चीन प्रस्थान गरेका थिए । । १९औं एसियाली खेलकुद्को उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुगेका थिए । प्रधानमन्त्री दाहालले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । उनले दुई देशबीच भएको समझदारी र अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताए ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको पनि उनले बताए । स्याँप्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

चीनसँग टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको पनि बताए । उनले नेपाल–चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेलगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने बताएका उनले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत् प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको बताए । ल्हासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए ।

त्यस्तै बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री दाहाल बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी भए । प्रधानमन्त्री दाहाल छोङछिङ र मानसरोवर हुँदै छेन्दु आइपुगेका हुन् ।

प्रचण्ड
प्रधानमन्त्री

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles