चिनियाँ ऋणमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा कहिलेदेखि सञ्चालनमा आउला ? आम नेपालीको चासो यहिँ केन्द्रित छ । २२ अर्ब चिनियाँ ऋण लगानीमा निर्माण भएको विमानस्थलले विजनेस पाउन नसक्दा अहिले यसले ऋण तिर्ने सक्ने वा नसक्ने बारे भन्दा पनि यसको औचित्यमाथि नै प्रश्न गर्न थालिएको छ । भू–राजनीतिक चपेटोमा परेको विमानस्थलमा चीनले उडान नियमित गरेर विमानस्थललाई चलायमान वनाउन कस्तो भूमिका खेल्न सक्ला ?
चिनियाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कहिलेदेखि पूर्णरुपमा सञ्चालनमा आउला ? यो अनुत्तरित प्रश्न हो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि सिधेै पोखरामा विदेशी पर्यटक आउलान भन्ने ठानेका व्यवसायीदेखि पोखरेली समेत खिन्न देखिन्छन् । ठूलो धनराशी खर्चिएर निर्माण सम्पन्न भएको विमानस्थलमा चीन र भुटानका दुई चार्टर्ड उडानबाहेकका उडान हुन नसक्दा यस्तो चिन्ता स्वभाविक पनि हो ।
पोखरा विमानस्थलमा आन्तरिकतर्फका उडान भइरहेपनि यसलाई अन्तराष्ट्रिय गन्तव्यसँग जोड्नैपर्ने बाध्यता भने पक्कै छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भव्य गरिएको थियो । हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पन गरेर उद्घाटन गरिएको यो विमानस्थलमा अन्तराष्ट्रिय गन्तव्यबाट ब्यवसायीक रुपमा नियमित उडान भने हुन सकेको छैन ।
विमानस्थल निर्माणमा चिनियाँ सहयोगको प्रशंसा गरेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलले पोखराको आर्थिक समृद्धिमा ठूलो योगदान दिने बताएका थिए ।
चिनियाँ ऋण लगानीमा विमानस्थल बनेका कारण उद्घटानमा पुगेका चिनियाँ राजदूतले यसलाई बीआरआई परियोजनामार्फत राखेको दाबी गर्दै विमानस्थल सञ्चालनमा आउनुपर्ने धारणा राखेका थिए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ऋण लगानी भएकै कारण विमानस्थल भू–राजनीतिको चपेटोमा परेको दाबी गरिदै आएको छ । विमानस्थलमा चार्टर्ड उडानबाहेक नियमित उडान हुन नसक्दा यसको औचित्यबारे समेत प्रश्न उठिरहेको देखिन्छ । पर्यटनमन्त्री सुदन किरातिले समेत चीन भ्रमणमा पोखरा विमानस्थलबारे उच्च स्तरिय छलफल हुने बताएका थिए । मन्त्री किरातिले भनेजस्तै प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल सञ्चालनको विषयमा चीन सकारात्मक रहेको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको उनको दाबी छ ।
कनेक्टिभिटीको विषयमा सघन छलफल भएको बताएका प्रचण्डले ऋण लगानी मिनाहाबारे कुराकानी भए नभएको विषय भने खुलाएनन् । पोखरा विमानस्थलले विजनेस पाउन सकस परिरहेको बेला यसले ऋण तिर्न नसक्ने र चिनियाँ ऋण गलपासो बन्ने त होइन भन्ने कोणबाट समेत छलफल भने भईरहेको छ । नेपालको आग्रहमा लिइएको ऋण नेपालले तिर्नुपर्नेमा दुविधा नभएपनि विमानस्थल सञ्चालनका लागि सरकारले तयारी गर्नुको विकल्प छैन् । भू–राजनीतिको चपेटोमा पर्छ कि भन्ने भयलाई समेत ख्याल राख्दै यसबारे सरकारले आफ्नो धारणा अन्तर्राष्ट्रिय समुदायमा राख्दै कनेक्टिभीटीको विषयलाई प्रभावकारी बनाउनुको विकल्प छैन ।साभार।
