सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ। सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् ।विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका थिए । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।