इजरायलका थप दुई सय नेपाली उद्धारको पर्खाइमायुद्धग्रस्त इजरायलबाट २ सय ५४ जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएपछि थप २ सय जनाले नेपाल फर्कने इच्छा गरेका छन् । स्वदेश फर्काइएकाहरु परिवारको सम्पर्कमा पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बिहीबार राति चार्टर्ड विमानबाट इजरायलमा रहेका विद्यार्थीलाई प्राथमिकताका साथ फिर्ता गरिएको थियो । तर अन्य करिब २ सयले पनि तत्काल स्वदेश फिर्ता हुन चाहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।गाजापट्टीबाट विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमण पहिलेको भन्दा फरक प्रकृतिको भएकाले नेपाली त्रसित हुँदै आएका छन् । नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।दूतावासले स्वच्छाले नेपाल फर्कन चाहनेहरूलाई फर्म भर्न आह्वान गरेको थियो । करिब ५ सय जनाको फर्म आएको दूतावासले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलले भने सुरुका दिनमा केही त्रास भए पनि पछिल्लो समयमा रकेट आक्रमण मात्रै भएकाले त्यसबाट डराउनुपर्ने अवस्था नरहेको जनाएको छ ।हमासको आक्रमणमा परी बेपत्ता भएका विपीन जोशीको भने खोजी भइरहेको छ । इजरायलमा हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।