आइतबार सभापति देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । सो भेटमा आफूहरूले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको उनीहरूको भनाइ छ । छलफलमा महामन्त्री गगनभन्दा विश्वप्रकाश शर्माले बढी चासो राखेका थिए । उनले कोशीका विषयमा कोशी प्रदेशका कुनैपनि नेतालाई सभापति नसोध्नु दु:खद भएको कुरा बैठकमा राखेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । छलफलपछि शर्माले भने,‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो । यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ ।’
कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा. नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री शर्माले बताए । महामन्त्री शर्माले डा. शेखर कोइरालाले पनि कोशी घटनाको विषयमा जवाफ दिनुपर्ने बताए ।
सभापतिले देउवाले लिएको निर्णयमा आफूहरूको संलग्नता नभएको समेत उनीहरूले प्रस्ट्याएका छन् । कोशीमा त्यो परिस्थिति हुनुका पछाडि सबैभन्दा धेरै कमजोरी सभापतिबाटै भएको उनीहरूको निष्कर्ष छ । बैठक कोशी प्रदेशको विषयमै केन्द्रित भएको नेताहरूले बताएका छन् । सभापति देउवासँगको छलफलपछि महामन्त्री शर्माले सभापति र पार्टीभित्र फरक मत समूहको नेतृत्व गर्ने नेता दुवैले गलत गरेको बताए ।
एनले भने,‘एमालेसहितको गठबन्धन बन्नुपर्छ भनेर हामीले जोड दिएका थियौँ । त्यो भनेको माओवादी केन्द्रसँगको गठबन्धन तोड्ने भनिएको थिएन । सभापतिले गर्नुभएको निर्णयमा हाम्रो संलग्नता र सहमति नै थिएन । तर माओवादी केन्द्रले पाउँदा माओवादीलाई सहयोग नै गर्न नसकिने भन्ने पनि थिएन । उहाँहरूले पनि हुँदा खाँदाको छोडेर दुई–दुई पटक हामीलाई सहयोग गर्न आउनुभएकै थियो ।
जब विधिवत् निर्णय हुँदैन, त्यस्तो अवस्थामा पनि सभापतिले गरेको निर्णय मान्ने हाम्रो दलीय अभ्यास नै हो । हामीले त्यही अनुसार दलको निर्णय लागू गर्न पनि प्रयास गरेकै थियौँ । तर सभापतिले गरेको निर्णयको विरोध भयो र ८ जना साथीहरूले विद्रोह नै गर्नुभयो । र यो अवस्थामा छौँ ।’
महामन्त्री शर्माले कोशीमा अहिले जे भयो, त्यसको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र त्यसप्रकारको घटना भविष्यमा दोहोरिन नदिनुपर्ने बताए । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापति र फरक मत समूहको नेताले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । उहाँहरू सुध्रिन आवश्यक छ । किन यो प्रकारको दुर्घटना भयो, ‘यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ,’ सभापतिसँगको छलफलमा आफूहरूले राखेको विषयबारे शर्माले भने ।
