जिल्ला प्रहरी कार्यालय बाराको टोली प्रहरी चौकी छतवामा तस्करको आक्रमणमा परेको छ । सीमा क्षेत्रबाट निर्बाध तस्करी गर्दैआएका तस्करलाई जिल्लाबाट टोली खटाएर नियन्त्रण गर्न खोज्दा आक्रमण भएको हो । उसो त छतवा चौकीका इन्चार्ज वरिष्ठ सई श्याम यादवले नै गाउँले उचालेर जिल्लाको टोलीमाथि आक्रमण गर्न लगाएको प्रहरीको भनाइ छ ।
गाउँलेले प्रहरी टोलीलाई आक्रमण गरिरहँदा वरिष्ठ सइ यादव भने चौकी खाली गरेर हिँडेका छन् । सोमबार राति अबेरसम्म उनी सम्पर्कमा आएका छैनन् । यादवले नै बरामद धान लिन जाने जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ । चौकी नै खाली गरेर हिंडेका उनलाई निलम्बन गर्न बारा प्रहरीका एसपी सुरेश काफ्लेले प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्ने भएका छन् ।
आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करको समूहले आक्रमण गरेको हो ।
विभिन्न नाकाबाट भन्सारछलीका सामान भित्रने गरेको सूचनापछि बारा प्रहरीले नाकामा कडाइ गरेको हो । प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी रोक्न सोमबार बिहान छतवा पुगेको थियो । तर तस्करी रोक्न पुगेको जिल्लाको टोलीमाथि तस्करको समूहले आक्रमण गरेको थियो ।
जिल्लाबाट खटिएको टोलीमाथि आक्रमण हुँदा छतवा चौकीका इन्चार्ज वरिष्ठ सई श्याम यादवसहित सबै प्रहरी चौकी खाली गराएर हिँडेका थिए । प्रहरी टोलीमाथि आक्रमण गरेको तस्करको समूहले आइतबार बरामद गरिएको १८ बोरा धान पनि लुटेर लगेको छ । चौकी खाली गरेर हिँडेका २ प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखेर छानबिन सुरु भएको छ । एसपी काफ्लेले चौकी खाली गरेर हिँडेकामध्ये दुई प्रहरीलाई छानबिनका लागि ल्याइएको बताए ।
प्रहरीले नै पैसा लिएर धान पास गरेको खुलासा
भारतसँग खुला सीमा जोडिएको बाराको छतवालगायतका नाकाबाट भारतीय धान तस्करी हुने गरेको छ । भारत र नेपालका कारोबारीले सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर ट्याक्टर र मोटरसाइलमा ओसारेर धान तस्करी गर्दै आएका छन् । नाकाबाट दैनिक १० देखि १५ ट्याक्टर धान राजश्व छलेर नेपाल भित्रिने गरेको बताइएको छ ।
तस्कर र कारोबारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा राति ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा धानसहितको ट्याक्टर नेपालमा भित्र्याउने गरेको स्थानीयले बताए । प्रहरी श्रोतका अनुसार, तस्करले प्रतिट्याक्टर धान भित्र्याएबापत नाकामा नेपाल प्रहरीका इन्चार्जलाई ३ हजार पाँच सय र सशस्त्र प्रहरीका इन्चार्जलाई दुई हजार पाँचसय रुपैयाँ दिने गरेका छन् । यसैबीच छतवा नाकाबाट धानको तस्करी भइरहेको सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार राति ठूलो परिमाणमा धान बरामद गरेको छ । आइतबार राति प्रहरीले ५५ बोरा धान बरामद गरेको छ ।
भारतको घोडासाहनबाट छतवाको बटमचोक नाका हुँदै मोटरसाइकलमा ओसारेर ल्याइएको धानका साथै चार वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । छतवास्थित प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डरआउट पोष्टको मिलोमतोमा धान तस्करी भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटेको प्रहरी टोलीले धान र मोटरसाइकल बरामद गरेको हो ।

