मासुजन्य खसी बोका, कुखुरा, हाँस, राँगा, बंगुर, माछाजस्ता उत्पादन पनि शहरसम्म पुग्ने गरेका छन् । यसले शहरको मात्रै होइन गाउँको अर्थतन्त्र पनि पूर्ण रुपमा सक्रिय बनाउने गरेको छ । अर्को, यातायात क्षेत्रको सक्रियता पनि दशैंमा अत्यन्तै बढ्ने गरेको छ । ग्रामीण क्षेत्रबाट शहरमा गएर स्थायी बसोबास गर्ने तथा पढ्ने, जागिर खाने, व्यापार, व्यवसाय गर्नेहरू पनि दशैंको समयमा आफ्नो पुर्ख्यौली थलो गाउँमा फर्कने हुनाले अर्थतन्त्र मात्रै होइन सामाजिक सम्बन्धलाई पनि यसले ताजा बनाउँदै कसिलो बनाउन मद्दत गर्दै आएको छ । दशैंले सांस्कृतिक पक्षलाई मजबुत बनाउने गरेको छ ।
नेपालका कुनै धर्म, सम्प्रदाय, जातजातिले दशैंप्रति असहमति र विरोध गरे पनि यो सांस्कृतिक चाड भएकाले यसले सबैलाई जोड्ने गरेको छ । जो क्षणिक आक्रोश र गलत व्याख्या, विश्लेषण गर्दै यससँग छुट्यो ऊ पनि पछुतोमा पर्ने गरेका विगतका उदाहरण छन् । यस्तो महत्वपूर्ण चाडमा सरकारको चासो र व्यवस्थापन भने परम्परागत ढर्राभन्दा माथि उठ्न सकेको छैन । दशैं जस्तो आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा विशेष चाडको उपयुक्त व्यवस्थापन गर्न चासो नदिने, नसक्ने र यसलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा अझ बढी फलीभूत बनाउन तिर चुक्नाले आम सर्वसाधारणको दुःख पनि बन्ने गरेको छ ।
दशैंमा नेपालको अर्थतन्त्र सक्रिय हुँदा सकारात्मक प्रभाव देखिने गरेका छन् । यसले अर्थतन्त्रलाई गति दिने गरेको छ । एकातिर दशैंले यति ठूलो भूमिका खेल्दै आएको छ अर्कातिर यही समयमा व्यापारीहरूले सामग्रीको मूल्य बढाएर जनतालाई अप्ठ्यारोमा पार्ने गरेका छन् । उद्योगी व्यापारीहरूले सरकारी कर्मचारीले दशैं पेस्की पाउने, केही निजी कम्पनीका कामदारले पनि अतिरिक्त पारिश्रमिक पाउने अवस्थालाई हेरेर उपभोग्य सामग्रीको मूल्य बढाउने गरेका छन् । यही समयमा विदेश गएका युवाहरूले नेपालमा रहेका परिवारका लागि आफ्नो कमाइ पठाउने भएकाले पनि व्यापारीहरूले मूल्यवृद्धि गरेर मौकाको फाइदा उठाउने गरेका छन् ।
यो आर्थिक वर्षको साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यातायात क्षेत्रले पनि चर्को मूल्य लिने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो आर्थिक वर्षको भदौ महिनामा ८ दशमलव १९ प्रतिशत मूल्य बढेको छ । अझ असोज, कात्तिक महिनामा उपभोग्य सामग्रीको मूल्य ठूलो मात्रामा बढेर जाने निश्चित छ । असोज महिनामा चिनी, खाने तेलदेखि दालजन्यदेखि मसलाजन्य वस्तु तथा चामलको मूल्य भारी मात्रामा बढेर गएको देखिएको छ ।
सरकारले दशैंलाई पूर्ण रुपमा व्यवस्थित गरेर अगाडि बढ्थ्यो भने बजार मूल्य यसरी ठूलो मात्रामा बढाउने अवस्था आउने थिएन । मूल्य नबढाएर पनि अर्थतन्त्रलाई सक्रिय पार्न सकिन्थ्यो । सरकारले महान चाड भन्न त छाडेको छैन तर सबै कुरा अव्यवस्थित रुपमा बजारलाई नै छाडिदिँदा यसले सन्तुलन गुमाउँदै गएको छ । जसले गर्दा आमनागरिकले दुःख भोग्नुपरेको छ, गरिबको दशैं सधैं दशा बन्ने गरेको छ ।
यो समयमा मूल्यवृद्धि त अन्त्यन्तै माथि पुग्ने गरेको छ नै गुणस्तरको मारमा पनि नेपाली जनता पर्ने गरेका छन् । यो समयमा उपभोग्य सामग्रीको तस्करी तथा कालोबजारी पनि द्रुत गतिले बढ्ने गरेको छ । सरकारले प्रायः दशैंमा अनुगमनको औपचारिकता पूरा त गर्ने गरेको छ तर त्यसको उपलब्धि शून्यजस्तै देखिएको छ । यो समयमा हुने तस्करी, कालोबजारी सरकारी अनुगमनबाट रोकिनुको सट्टा अझ बढ्ने गरेको छ । यो समयमा उपभोगको समय सिद्धिएका सामग्रीमा नयाँ मिति राखेर नयाँ लेबल लगाउने गरिँदै गरेको भेटिए पनि विगतमा सामान्य कारबाही मात्र हुँदै आएको छ ।
यस्तो अवस्था देखिनु अनुगमनमा जाने सरकारी कर्मचारी नै कालोबजारीसँग मिलेमतो गरेको अनुमान गर्न कठिन छैन । ठूला व्यापारीको अनुगमनमा जाँदा पहिले नै खबर गरिने कुरा त नौलो होइन । यो भन्दा डरलाग्दो कुरा अर्को के हुन सक्छ ? अर्को, राजनीतिक क्षेत्रले दलालीकरण तथा कमिसनको जालो बढाउँदा कालोबजारी मौलाउने गरेको तथा कारबाही नहुने अवस्था आएको स्पष्ट देखिन्छ ।
दशैंमा शहरी क्षेत्रमा स्थायी वा अस्थायी रुपमा बसोवास गर्नेहरू परिवारसहित आफ्नो जन्म ठाउँमा पुग्ने गरेका छन् । यसले गाउँ, शहरको संस्कार संस्कृति आदान, प्रदान तथा ताजा हुने गरेको छ । साना बालबालिकाहरूलाई ग्रामीण संस्कार, संस्कृति बुझ्ने अवसर मिल्ने गरेको छ । दशैंमा आफ्ना बाआमाको, गाउँमा बस्ने परिवारका अन्य सदस्य तथा अन्य नाता सम्बन्धनसँग सँगै टीका लगाउने, भोजन गर्ने तथा सानो समय भए पनि सँगै बसेर रमाउँदा सम्बन्ध गाढा बनाइरहन मद्दत पुग्ने गरेको छ । यस्तो महत्वपूर्ण समयमा सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित गर्न सकेको छैन जसले गर्दा दशैंमा आवतजावत गर्नेहरूलाई निकै कष्ट व्यहोर्नु परेको छ ।
यातायातका साधनहरुले चर्को भाडा लिने, गुणस्तर नदिने, थोत्रा गाडी चलाउने, गन्तव्यमा समयमा नपुर्याउने समस्या कहिल्यै पनि हटेको छैन । टिकटै नपाउने समस्या अझै पनि टरेको छैन । यो क्षेत्र व्यवस्थित तथा सुलभ र सस्तो हुने हो भने शहरबाट गाउँ जानेहरूले अझ बढी गाउँ जाने मन गर्ने थिए । यात्रामा अन्त्यन्तै दुःख झेल्नुपर्ने हुनाले गाउँ जान चाहनेहरू पनि जान नसक्ने अवस्था छ । यो अवस्थामा सरकारले ध्यान दिने हो भने नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा पनि गुणात्मक विकास हुने निश्चित छ ।
अर्थतन्त्र
बडादशैं
