पर्सा, ७ साउन ।
एक वर्षको अवधीमा नेपाल प्रहरीमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एक हजार ७ सय १ जना कारबाहीमा परेका छन् ।
प्रहरीको वार्षिक कार्यसम्पादन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा एसएसपीदेखि प्रहरी जवानसम्म गरी एक हजार ७ सय १ जना कारबाहीमा परेको हो । कारबाहीमा पर्नेहरु बढी प्रहरी जवान नै रहेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार यो अवधिमा ७६४ जना प्रहरी जवान, ३३८ प्रहरी सहायक हवल्दार, २८२ प्रहरी हवल्दार, ६७ वरिष्ठ हवल्दार र ११८ प्रहरी सहायक निरीक्षक कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा ४८ जना प्रहरी नायब निरीक्षक, १६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र २६ जना प्रहरी निरीक्षक रहेका छन् । यसैगरी ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन् भने एक जना एसपी रहेका छन् ।
प्रहरी नियमावलीमा सामान्य र विशेष गरी दुई किसिमको कारबाहीको कानूनमा व्यवस्था छ । सामान्य अनुसार शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, अधिकतम ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने लगायत व्यवस्था रहेकाछन् ।
विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र नठहरिने गरी बर्खास्त गर्नेसम्म लगायतको व्यवस्था छ ।
यसैगरी ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १० डीआईजी, ३९ एसएसपी, ७९ एसपी, २२६ डीएसपी र ५८५ इन्स्पेक्टरसहित ८ हजार ८३४ जना पुरस्कृत भएका छन् ।
३९३ प्रहरी वरिष्ठ नायब निरीक्षक, ६२३ प्रहरी नायब निरीक्षक, १ हजार १८९ प्रहरी सहायक निरीक्षक, ५२२ प्रहरी वरिष्ठ हवल्दार, १ हजार १९४ प्रहरी हवल्दार, १ हजार ५७६ प्रहरी सहायक हवल्दार, २ हजार १३९ प्रहरी जवान र २५६ प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएका हुन् ।