पर्सा, २९ भद्रौ

आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन् ।
आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाको मैलुङस्थित कार्यालयमा आन्दोलनरत मजदुरबाट प्रहार भएको ढुङ्गामुढाले सुरक्षाकर्मी घाइते भएका हुन् ।
घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आयोजनामा कार्यरत मजदुरको काम गर्ने समय फेरबदल गराई जिम्मेवार पक्षले कामदारलाई आफ्ना नीति र सिद्वान्तको विषयमा प्रशिक्षणमार्फत स्पष्ट गराउन नसकेकाले आन्दोलनमा उत्रेका मजदूरहरूको भनाइ छ ।
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकहरूको कमान्डमा गएको सुरक्षा फौजले मात्र आन्दोलन नियन्त्रणमा लिन नसकेपछि छिमेकी जिल्ला नुवाकोटबाट थप सुरक्षाकर्मी झिकाइएको थियो ।