Tuesday, July 1, 2025

सहकारी ठगी प्रकरणरविलाई ९० दिनसम्म हिरासतमा राख्न सकिने, प्रहरीले के–के भेट्यो प्रमाण ;

ताजा / भरखरै प्राप्त

सुवास गोतामे
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविसँग भटाभट बयान लिने काम भइरहेको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएका रविले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा २० दिन बिताइसकेका छन् । कास्की प्रहरीको समन्वयमा रविमाथि अनुसन्धान गर्न केन्द्रबाटै प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । पाँचवटा सहकारीहरू क्रमशः सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा गएको ६५ करोड ५४ लाख रुपैयाँ गएको र उक्त रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै अनुसन्धान भइरहेको हो ।
सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गर्नेमध्ये रविका ‘पार्टनर’ एवं गोरखा मिडियाका अध्यक्ष जीबी राई फरार छन् । अर्का सञ्चालक छविलाल जोशी बञ्जाडेलाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
रविको नाममा सहकारीबाट ऋण प्रवाह हुँदा उनले अन्य व्यक्तिलाई मन्जुरी दिएका कारण ठगी पुष्टि हुने प्रहरीको तर्क छ ।
अदालतमा बहसका क्रममा सरकारी वकिलका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले भनेका थिए, ‘६५ करोड रुपैयाँ कम्पनी (गोरखा मिडिया नेटवर्क)मा आएको छ, त्यहीबाट मनपरि तलब र सामग्री खरिद गरेर शुद्धीकरण गर्न खोजिएको देखिन्छ । त्यही भएर यो घटना सम्पत्ति शुद्धीकरणको मुद्दासँग मेल खान्छ ।’
सरकारी वकिलले गोरखा मिडियाको बिउ पुँजी ( सहकारीबाट ठगी गरेर ल्याएको ६५ करोड ५४ लाख रुपैयाँ) मध्येबाट नै रविले १५ प्रतिशत शेयर लिएको र उक्त शेयर ठगी गरिएको रकममध्येबाटै लिएको देखिएकाले रविविरुद्ध ठगी मुद्दा पुष्टि हुने दाबी गरेका छन् । रविलाई शेयर दिने कार्यमा जीबी र छविको सहमति देखिएकाले संगठित रूपमा रवि जोडिएकाको सरकारी वकिलको तर्क छ ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले कास्की प्रहरीको समन्वयमा आफ्नो टोलीले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘हाम्रो टोली उतै छ । प्रमाण संकलन गरिरहेको छ । बयान लिने काम भइरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दा अलि जटिल भएकाले समय लाग्छ ।’
घघडान अधिवक्ताको बहस, रवि भित्रै !
रविलाई हिरासतमा नराखी बाहिरै बसेर पैरवी गर्न माग राख्दै उनको पक्षबाट घघडान वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए ।जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, मेघराज पोखरेल, नारायण घिमिरे, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायण कँडेलले बहस गरे ।
छविका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए । तर, सरकारी वकिल कार्यालयका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहन्यायाधिवक्ता विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडित (जाहेरवाला) तर्फका अधिवक्ता युवराज पराजुलीलगायतले गरेको बहस सुनेपछि न्यायाधीश पौडेलले १० दिनको म्याद दिएका थिए ।
सरकारी वकिलहरूले सहकारी ठगीमा रविको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको देखिँदा गहिरो छानबिनका लागि थुनामा राख्नैपर्ने माग गरेका थिए । रविको नाममा सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जामार्फत १ करोड रुपैयाँ निकालिएको देखिँदा सहकारी ठगीमा उनको संलग्नता प्रत्यक्ष रहेको पुष्टि हुने सरकारी वकिल कार्यालयका वकिलहरूको तर्क थियो । तीनपटक म्याद थप हुँदा रवि पक्षका वकिलहरूले चार घण्टाभन्दा बढी बहस गरेका छन् । त्यति हुँदा पनि अदालतले रविलाई हिरासतबाहिर राख्न स्वीकृति/आदेश दिएको छैन ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘प्रायः थुनछेकमा लामो बहस हुन्थ्यो, तर यहाँ त म्याद थप गर्ने बेलामै लामो बहस, त्यो पनि घघडान वरिष्ठ अधिवक्ताहरूले र्‍याखर्‍याख्ती पारेका छन्, हामीले केही प्रमाण देखाएकै कारण रविलाई थुनामा राख्नुपर्ने देखिएर अदालतले म्याद दिएको हो ।’रविको पक्षबाट उनकै पार्टी नेतृ एवं सांसाद सोभिता गौतमले समेत बहस गरेकी थिइन् ।
रविलाई ९० दिनसम्म हिरासतमै राखिने !
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि रविलाई ९० दिनसम्म हिरासतमा राख्ने तयारी प्रहरीको छ ।
उनको विभिन्न बैंक खाताको स्टेटमेन्ट, सम्पत्तिको विवरण, आम्दानीअनुसार सरकारलाई कर तिरेको विवरणलगायत धेरै कागजात जुटाउनुपर्ने देखिएको भन्दै प्रहरीले पछिल्लोपटक २५ दिनको म्याद मागको थियो । तर, अदालतले १० दिनमात्रै दियो । म्याद बिस्तारै लम्ब्याउँदै जाने तयारी प्रहरीको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा बुझाउन पाउँछ ।
रविले ग्यालेक्सी टीभीमा काम गर्दा मासिक करिब ६ लाख रुपैयाँ तलब लिने गरेका थिए । डेढ वर्ष उक्त टीभीमा काम गरेका उनले त्यसअघि अन्य टेलिभिजन कार्यक्रममा पनि राम्रै रकम बुझ्ने गरेका थिए । उनले सार्वजनिक जीवनमा काम गर्दा होस् वा अन्य समयमा काम गर्दा आर्जन गरेको सम्पत्तिको लेखाजोखा, सरकारलाई तिरेको कर, आम्दानी र खर्चको तादम्यता मेल खाए/नखाएको लगायतका विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रविले आफ्नो परिवार वा नातागोताका नाममा राखेको सम्पत्ति समेत खोतल्ने प्रहरी तयारी छ । स्रोतले भन्यो, ‘सहकारी ठगी, कीर्ते र संगठित अपराध मुद्दा ६० दिनभित्र बुझाइसक्नुपर्थ्यो, तर सम्पत्ति शुद्धीकरण पनि जोडिएकाले प्रमाण संकलनका लागि अझै म्याद थप गरिरहनुपर्ने देखिन्छ ।’सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles