सिरहाका पुर्व मेयर पासवान अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले एक व्यक्तिलाई कुटपिट गरेका छन् ।
पूर्वमेयर पासवानले कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ४४ वर्षीय ओमप्रकाश महतोलाई कुटपिट गरेका हुन् ।कर्जन्हा बजारस्थित चिया पसलमा बिहीबार बेलुकी बसिरहेकै अवस्थामा आफूमाथि पासवानले आक्रमण गरेको आरोप महतोको छ ।
पासवानले बाँसको फट्ठाले हानेको र यसले आफ्नो गर्धन तथा दाहिने हातमा चोट लागेको उनले बताए ।आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए ।
महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।
यसैकारण पासवानले ‘तिमीहरुले मलाई बर्बाद बनायौ’ भन्दै आफूमाथि एक्कासी जाइलागेको आरोप महतोको छ ।
‘म केही स्थानीय व्यक्तिहरुसहित चिया खाइरहेको थिएँ,’
उनले कान्तिपुरसँग भने, ‘मलाई तिमीहरुले बर्बाद बनायौ भन्दै एक्कासी म माथि आक्रमण
गर्नुभयो ।
’नगरपालिकाको केन्द्रको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा २०७८ माघमा प्रशासकीय भवन निर्माणमा कामै नगरी १ करोड ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा परेको थियो ।
त्यसबारे विशेष अदालतले बुधबार मात्रै पासवानसहित पाँच जनालाई दोषी करार गरेको थियो ।