
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।
मङ्सिर १७ पछि पक्राउ परेका उनीहरू सबै भारतीय हुन् ।
पक्राउ पर्नेमा सुमन घोस, अमित यादव, ब्रजेशकुमार कुसवाह, सुमन्त कुमार, सन्दीपकुमार सिंह, प्रियन्सुकुमार सिंह र
रोहित शर्मा छन् ।
उनीहरुले एनपिएल प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।
मैदानमा बसेर रिजल्ट आफैँले हेरेर बाजी लगाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
मैदानको दृश्य टेलिभिजनबाट प्रसारण हुँदा केही समय लाग्ने हुनाले सट्टेबाजहरुले मैदानमा मान्छे खटाएर
नै बाजी लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘प्रत्येक बलको नतिजा मैदानमा बस्नेहरूले मुख्य एजेन्टलाई फोन अथवा म्यासेज मार्फत भन्छन्, करिब ५ सेकेन्डमा उनीहरुले लाखौँको बाजी लगाउने गरेको
भेटिएको छ ।’
रिजल्ट आफूले पहिले नै थाहा पाएर मूल्य धेरै दिँदा कमाउने आशामा खेल्नेहरूले लाखौं गुमाउने गरेका छन् ।
मैदानको नतिजा टेलिभिजनबाट प्रसारण हुँदा करिब ५ सेकेन्ड लाग्ने र त्यही बिचमा उनीहरूले लाखौँको हारजित हुनेगरी बाजी लगाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरी उपरीक्षक बोगटी भन्छन्, ‘मैदानबाट रिजल्ट हेरेर सट्टेबाजहरुले बाजी लगाउँदा धेरै मानिसहरू ठगिने सम्भावना बढेको देखिएको छ ।’
सट्टेबाजी गराउन भारतीय गिरोह नै नेपालमा आएको प्रहरीको आशङ्का छ । अहिले पक्राउ परेका ७ जना नेपाल प्रिमियर लिग सुरु भएसँगै काठमाडौँमा आएका छन् ।