काठमाडौं । नेपाल प्रहरीका केही अधिकारीहरू ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेर व्यक्तिगत स्वार्थमा लागेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन् ।राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका हुन् ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन् ।
पछिल्लो समय डिआइजी र एसएसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवरले राजनीतिक दबाब झेलिरहेका छन् ।
कतिपय बदनाम प्रहरी अधिकारीले उच्च तहका नेताबाट निरन्तर दबाब दिएपछि यस्तो परिपत्र जारी भएको स्रोत बताउँछ ।त्यस्तै, केही एसएसपीहरू पनि सरुवाका लागि अस्वथ चलखेलमा
लागेका छन् ।
काठमाडौं परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर परिसर जानका लागि एसएसपीहरूबीच चर्को प्रतिस्पर्धा छ ।
केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका
थिए ।
तर, कारबाही हुन नसक्दा चेन अफ कमाण्डविपरीतका गतिविधि रोकिएका
छैनन् । यो खवर नव जनप्रहारबाट । सभार।