
हबिबुलाह समानी।
पौष ११,२०८१,
आज भारतको मुम्बईमा आम नेपाली एकता समाजको विशेष बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठक समाजसेवी शेख इरसादको अध्यक्षतामा आयोजित गरिएको थियो। शेख इरसाद हाल मुम्बईमा बसोबास गर्दै आउनु भएको रौतहट जिल्ला, राजपुर नगरपालिकाका एक प्रखर समाजसेवी हुन्।
कार्यक्रमको प्रमुख अतिथि आम जनता पार्टीका स्थायी समिति सदस्य तथा आम नेपाली एकता समाज भारतका अध्यक्ष विजय यादव ‘निर्बीज’ रहनुभएको थियो। बैठकमा भोजपुरी चलचित्र उद्योगका चर्चित निर्देशक रमाकान्त प्रसाद, अस्कर मनोनित निर्देशक रञ्जन उमाकृष्ण, र आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जायसवाल जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति विशेष आकर्षण थियो।
यस विशेष बैठकको मुख्य उद्देश्य मुम्बईमा रोजगारीका लागि बसोबास गरिरहेका नेपालीहरूको सम्मान, सुरक्षा र उनीहरूका विभिन्न समस्याको समाधानका लागि ठोस योजना निर्माण गर्नु रहेको थियो। कार्यक्रमका दौरान वक्ताहरूले विदेशमा काम गर्दै आएका नेपालीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार र सुरक्षाका लागि आवाज उठाउन प्रतिबद्धता जनाए।
समाजसेवी शेख इरसादले आफ्नो सम्बोधनमा मुम्बईमा रहेका नेपाली समुदायलाई एकताबद्ध राख्न आफूले खेलेको भूमिकाका बारेमा चर्चा गरे। प्रमुख अतिथि विजय यादवले आम नेपाली एकता समाज भारतले विगतमा गरेका योगदानहरू र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी गराए।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पनि आफ्ना विचार प्रस्तुत गरे। भोजपुर चलचित्र निर्देशक रमाकान्त प्रसादले कला र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भारतमा चिनाउन सकिने कुरामा जोड दिए। निर्देशक रञ्जन उमाकृष्णले नेपाली प्रतिभाको विश्वव्यापी पहिचानका लागि प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकको समापनमा निकट भविष्यमा आम जनता पार्टीका अध्यक्ष माननीय प्रभु साहको प्रमुख आतिथ्यमा एक बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको छ। यो भेलाले मुम्बईमा रहेका नेपालीहरूको समस्याहरू समाधान गर्न र उनीहरूको हक अधिकारका लागि अझ सशक्त कदम चाल्ने अपेक्षा गरिएको छ।
समाजले यस भेलालाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ, जसले विदेशमा रहेका नेपालीहरूको एकता, पहिचान र सुरक्षाका लागि नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ।