नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ ।लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने ।
स्थिती नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो ।
सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिए ।करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिए ।साभार