साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ ।होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको रङ प्रयोग हुने गरेको पाइन्छ ।
सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो ।
भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको दृखिन्छ । भारतबाट उक्त अवधिमा १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको देखिन्छ । यसरी आयात भएको रङको अधिकांश परिमाण होलीमा खपत हुने गरेको छ । त्यसबाहेक दसैं, तिहार अन्य चाडपर्वमा पनि खपत हुने गर्छ ।नेपालमा भारतपछि उत्तरी छिमेकी चीनबाट धेरै रङ आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चीनबाट पछिल्लो सात महिनामा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ ।त्यसैगरी अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स (यूएई), फ्रान्स, मेक्सिको, जर्मनी लगायत देशबाट पनि नेपालमा रङ आयात हुने गरेको पाइन्छ ।