नवनियुक्त नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा सुधार अब टार्न नसकिने आवश्यकता भएको बताएका छन्।
थापाले प्रहरी संगठनलाई समाजको प्रतिबिम्बका रूपमा उल्लेख
गरेको छन् । “प्रहरी समाजकै आवश्यकता र उपज हो । समाजमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् , जसबाट नेपाल प्रहरी पनि अछुतो छैनन् । सुधारका लागि ती पक्ष लुकाउने होइन, खुलेर सामना गर्ने बेला आएको छ । प्रहरीमा सुधार आवश्यक छ, र अब साइत कुरेर बस्ने समय छैन,” उनले भने ।
आईजीपी थापाले सुधार बाहिरबाट नभई व्यक्तिगत स्तरबाटै सुरु हुनुपर्ने धारणा व्यक्त गरेको हो । “सुधार कोही व्यक्तिबाट होइन, मभित्रैबाट सुरु हुन्छ । हरेक प्रहरी अधिकारीले यसलाई आत्मसात् गरी अघि बढ्नुपर्छ । म सम्पूर्ण सहकर्मी र नेपाल प्रहरी बललाई सुधारको दिशामा प्रतिबद्ध रहन आग्रह गर्न चाहन्छु,” थापाले जोड दिएका छन् ।