
नेपाल प्रहरीमा एकैपटक ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दीपक थापालाई नियुक्त र पाँच जना एआईजी अनिवार्य अवकाशमा गएसँगै एआईजीको ६ दरबन्दी रिक्त भएको हो । प्रहरीको जनपदतर्फका ८ एआईजीमध्ये राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै सेवामा छन् । एआईजीहरू प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र जनकराज भट्टराई कुँवरसँगै अवकाश भए।
नेपाल प्रहरीमा अब रिक्त हुने ६ जना एआईजीका लागि तीन ब्याचका डीआईजीहरू प्रतिस्पर्धामा छन्। भर्ना हुँदा नै तीन ब्याचका उनीहरू एसएसपीबाट डीआईजी पनि तीन चरणमै बढुवा भएका थिए। रिक्त ६ पदका लागि प्रहरीका डीआईजीहरु बढुवाका लागि लबिङमा लागेका छन्। प्रदेशमा रहेका डीआईजीहरु विदा लिएर काठमाडौंको शक्तिकेन्द्र धाउन थालेका छन्।एआईजी बढुवाको लाईनमा रहेका डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। पोखरेल बढुवामा छुट्दा खापुङ र आचार्य उनीभन्दा सिनियर हुन पुगेका छन्। खापुङ र आचार्य ०७९ चैत २९ गते बढुवामा सिफारिस भएका थिए भने पोखेरल ०८१ जेठ ४ गते डीआईजी बढुवामा पहिलो नम्बरमा सिफारिस भएका थिए।खापुङ सीआईबी, आचार्य मधेस प्रदेश प्रहरी कार्यालय, र शर्मा बागमती प्रदेश प्रहरी प्रहरी कार्यालयमा कार्यरत छन्। संसदमा दर्ता भएको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा नआए ०५२ को टोलीबाट एक जना दुई महिनाका लागि संगठनको कमाण्ड सम्हाल्ने सम्भावना छ । आचार्य उमेर हदका कारण आगामी जेठ १२ गते अवकाश हुनेछन् ।
यस्तै एआईजी बढुवाका लागि ०५२ टोलीका पोखरेलसँगै डीआईजीमा बढुवा भएका ०५४ को टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी लगायत एआईजी बढुवाका लागि दौडधुपमा छन्। कार्की लुम्बिनी प्रदेश, के.सी राष्ट्रिय प्रहरी प्रतिष्ठान, र अधिकारी कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत छन्। ०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरी सेवामा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बरबहादुर विक र हिमालयकुमार श्रेष्ठ पनि बढुवाको प्रतिस्पर्धामा छन्। रआविबाट नेपाल प्रहरीमा समायोजनपछि ०६४ पुसमा डीएसपी दर्जामा बढुवा भएका उनीहरु गत मंसिर ९ गते एसएसपीबाट डीआईजी बढुवामा सिफारिस भएका थिए।
०५४ का भर्ना भएका दान बहादुर कार्की सहितको टोली ०६६ मंसिर १६ मा डीएसपी बढुवा भएको थियो। अर्थात डीएसपी दर्जामा ०५३ को टोली पछि उनीहरु बढुवा भएका थिए। ०७९ असार २५ मा एसपीबाट एसएसपीसँगै बढुवा भएका दुवै टोलीका अधिकृतहरु मध्ये ०८१ जेठ ४ मा डीआईजी बढुवामा राअविबाट आएका सिनियर टोलीलाई पाखा लगाउँदै कार्की, केसी र अधिकारी बढुवा हुन सफल भए।रवि लामिछाने गृहमन्त्री भएको बेला कार्की, केसी र अधिकारी लामिछाने निकट भएको कारण डीआईजीमा बढुवा भएको आरोप छ । नव जनप्रहार, सभार ।