राजविराज । सप्तरी उद्योग वाणिज्य संघले चन्दा आतंकले व्यवसायी थप मारमा परेको बताएको छ । संघ आबद्ध व्यवसायीले आइतबार राजविराजमा पत्रकार सम्मेलन गर्दै विभिन्न बहानामा अहिले तोकिएरै चन्दा माग्ने प्रवृत्ति बढेको बताएका छन् ।
‘कोभिडपछि व्यापार–व्यवसाय धरासायी बनेको छ तर अहिले महायज्ञको नाममा एक लाखसम्म तोकेरै चन्दा माग्छन्, व्यवसायीको समस्या कसैले बुझिरहेको छैन् ?’ संघका अध्यक्ष लालुप्रसाद अग्रवालले भने, ‘खेलकुद र राजनीतिक दलका कार्यक्रमको नाममा पनि उस्तै आतंक छ ।’
उनले बजारमा मन्दी छाइरहेको बेला बैंकले ब्याजदर बढाएपछि व्यवसायी दोहोरो मार खेपिरहेको बताए । ‘साना, मझौलादेखि ठूला व्यवसायीले पनि व्यवसाय धान्न सक्ने अवस्थामा छैनन्, चार वर्षयता यहाँका एक सयभन्दा बढी व्यवसायी पलायन भइसके,’ उनले भने, ‘अझ चन्दा मागेर आतंकित नबनाइदिनू ।’पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणकुमार प्रधानले व्यवसायलाई चलायमान बनाउनमा सघाइदिन राष्ट्र बैंक र सरकारसँग आग्रह गरे ।जनप्रहार सभार ।