बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट प्रहरीले २३५ किलो लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा लोड गरेर राखिएको मिनी ट्रकसँगै प्रहरीले त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ पौने ७ बजे बीपी राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनीट्रकमा गाँजा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर लुकाइएको अवस्थामा गाँजा पाइएको थियो ।२३५ किलो गाँजा २० वटा पोकामा रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए । मिनीट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोले छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको डीएसपी जयसवारले बताएका छन् ।