वीरगन्ज । पर्साका सिडिओ गणेश अर्यालले कानुन कार्यान्वयनमा निर्मम बन्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर– १३ गणको स्थापना भएको अवसरमा आयोजित १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सिडिओ अर्यालले यस्तो निर्देशन दिएका हुन । सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनको नीतिको परिधिमा रहेर उल्लेखनीय काम गरेको सिडिओ अर्यालले चर्चा गरे ।
उनका अनुसार पर्सा जिल्लामा सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा र सीमाको रक्षासहित अन्य आफ्नो जिम्मेवारी निर्वाहमा उत्कृष्ट काम गरिरहेको छ, तर यतिले पुग्दैन । उनी भन्छन्, ‘सशस्त्र प्रहरी बलले अब आगामी दिनमा कानुनको कार्यान्वयनको पाटोमा अझ बढी निर्मम बन्नु पर्छ, भने नागरिकको सेवामा नरम बन्नुपर्छ । यसो गरेमा राष्ट्रले चाहेको, नागरिकले खोजेको चाहनाको सम्बोधन हुन्छ । त्यसकारण अब आगामी दिनमा सशस्त्र प्रहरी बलले यसतर्फ ध्यान दिनुपर्छ ।’
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ अर्यालले सशस्त्र प्रहरीका जवानदेखि लिएर अधिकारीहरुलाई शुभकामना दिँदै सेवामा दत्तचित भएर लाग्न निर्देशन दिएका थिए ।
कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बल मधेस प्रदेशका डिआइजी कालीदास धोबजीले सङ्गठनको नीति भन्दा बाहिर गएर काम नगर्न सुझाव दिए । सशस्त्र प्रहरीको जिम्मेवारी धेरै रहेकोले अझ बढी जिम्मेवार भएर सेवा गर्न उनले निर्देशन दिएका हुन ।
स्थापना दिवसको अवसरमा डिआइजी धौबजीले पर्सा सशस्त्र प्रहरी बललाई जनतासंग, स्थानीय तहसंग अझ बढी समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । वार्षिकोत्सवमा पर्साका एसपी राधेश्याम धितालले सशस्त्र प्रहरीले आगामी दिन अझ बढी नागरिक सेवामा दत्तचित भएर लाग्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘सशस्त्र प्रहरी बललको आफ्नो नीति छ, हाम्रो काम र कर्तव्यको बारेमा सङ्गठनको बेग्लै नीति छ । त्यही नीतमा आधारित भएर हामी आफ्नो सेवा प्रवाह गर्छौ । त्यसकारण कानुन कार्यान्वयन एक इन्च दाँयाबाँया हुँदैन, यो मेरो ठोकुवा छ ।’वार्षिकोत्सवमा चन्दादाता बढी सम्मानित भएका छन् ।
सशस्त्र प्रहरी बल पर्साले आज आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ । आइतबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरीलाइ विभिन्न समयमा सहयोग गर्ने, सामाजमा उदाहरणीय काम गरेको सम्मानित गरेको भनेतापनि अधिकांश गरी चन्दादाता रहेको कार्यक्रममा सहभागी पत्रकार श्रीराम रायमाझीले सुनाए हो । उनका अनुसार योपटक सम्मानितहरु अधिकांश व्यापारी छन् । ‘कसैको के व्यापार छ, त कसैको के धन्दा छ । तर यसमा कोही समाजमा सेवा गर्ने व्यक्ति छैनन्। सबैको बेग्लाबेग्लै धन्दा छ, तैपनि आज सम्मानित भएका छन्, उनले भने, ‘खै के देखेर सशस्त्र प्रहरीले सम्मनित गरेको हो ? यो गम्भीर प्रश्न छ ।’ सशस्त्र प्रहरीले सम्मानित गरेको व्यक्ति समाजसेवी भन्दा पनि चन्दादाता रहेको देखिन्छ,’ उनी भन्छन् ।
सशस्त्र प्रहरी बल पर्साका कमाण्डर रहिसकेका एक उच्च अधिकारी भन्छन्, ‘सम्मानित गर्नुको भनेको ठूलो कुरा हो, त्यसले प्रायः सम्मानित गर्दा ती व्यक्तिको सबै आचरण बुझेर हरेक ठाउँमा सम्मानित हुने गरिन्छ । अझ जसले समाजलाई स्व्च्छ नियतले टेवा पुग्ने काम गरेको हुन्छ, त्यस्ता व्यक्तिलाई सम्मानित गरिन्छ ।’
तर पछिल्लो समय फौजी कार्यक्रममा भने स्वच्छ व्यक्तिलाई भन्दा पनि आर्थिक सहयोग गर्ने व्यक्तिलाई त्यस्तो सम्मान दिने गरिएको उनको बुझाइ रहेको छ । तर सुरक्षा निकायले कसैलाइ सम्मानित गर्दा यी विषयहरुमा ध्यान दिनपर्नुे जरुरी रहेको उनको भनाइ रहेको छ । सशस्त्र प्रहरी बलले आज ग्रीन सिटिका आजीवन अध्यक्षको रुपमा चिनिने जयप्रकाश खेतान, व्यवसायीहरु पंकज अग्रवाल, अनुज अग्रवाल, मुरलीधर रुग्टासहितकालाई कदरपत्रसहित सम्मानित गरेको थियो,सभार ।