कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न माओवादी केन्द्र तयार ? शेरबहादुर देउवाको बैंकक भ्रमणले एमाले नेताहरु संशकित
प्रकाश बम
संसद्मा कुनै दलको स्पष्ट बहुमत नहुँदा सरकार बनेकै दिन अब कहिले ढल्ने हो भनेर चर्चा सुरु ।
विपक्षीमा पुग्ने दलले त आधार र कारण विनै सरकार तत्कालै ढलिहाल्छ भन्न थालिहाल्छ । कुनै नेता असन्तुष्ट देखिए पनि सरकार ढल्ने हल्ला चल्छ । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको झन्डै दुई तिहाइ बहुमतको सरकार छ र पनि स्थायित्वका विषयमा अनेक प्रश्न उठिरहेका छन् । आखिर किन त ?नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनमा हरेकजसो सार्वजनिक कार्यक्रममा नछुटाउने वाक्य हो– अब यो सरकार ढल्दैछ र ढल्नुपर्छ ।
दाहालले त सत्ता गठबन्धन घटक कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन तयारभए आफू सघाउन तयार रहेको भन्दै प्रस्ताव समेत गर्नुभएको छ । कांग्रेसका केही नेता पछिल्लो सरकारको कामप्रति सन्तुष्ट छैनन् । त्यसैलाई टेकेर माओवादी केन्द्रले वर्तमान सरकार विघटन नै हुने बताइरहनुभएको हो । सरकार संचालनका बारेमा एमाले कांग्रेसबीच सतहमै देखिएको बेमेलले समेत दाहाललाई उत्प्रेरित गरिरहेको बुझ्न कठिन छैन ।
दाहालमात्र होइन, माओवादीका अन्य नेता पनि संवैधानिक प्रावधान देखाएर कांग्रेसकै नेतृत्वम सरकार बन्नुपर्ने तर्क दोहोर्याउँदै माहोल आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेका छन् ।कांग्रेसका नेताहरुले सरकारको कामप्रति असन्तुष्टि त जनाइरहेकै छन्, सरकार ढल्दैन भनेर स्पष्टिकरण दिइरहनुपर्ने स्थितिबारे समेत कटाक्ष गर्ने गरेका छन् ।सरकार ढाल्न प्रमुख प्रतिपक्षी दल हात धोएर लागेको र सत्ता सहयात्री दल नेपाली कांग्रेसका केही नेताहरुको असन्तुष्टिका कारण पनि ओली नेतृत्वको सरकारको स्थायित्वमा प्रश्न उठेको हो ।
यही बेला सत्ताको चाबी बोकेर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि भन्दै थाइल्यान्ड जानुभएको छ। संयोग, परराष्ट्रमन्त्री आरजु राणा पनि थाइल्याण्डमै आयोजित एक कार्यक्रममा सहभागि हुन देउवासँगै निस्कनुभएको छ । कांग्रेसभित्रै पनि देउवा दम्पत्तीको बैंकक भ्रमणलाई शंकाको नजरले हेर्नेहरु छन् ।स्वयं महामन्त्री विश्वप्रकाश शर्मा देउवाको भ्रमण चिकित्साशास्त्रसँग मात्र नभई राजनीतिशास्त्रसँग सम्बन्धित रहेको बताउनुहुन्छ । कांग्रेसका अरु नेताको भनाइले पनि त्यस्तै संकेत गर्छ ।कांग्रेस नेताहरुको आशंका र बाहिर चलिरहेका हल्लालाई आधार मान्ने हो भने देउवाको भ्रमण उपचारमा मात्रै सीमित छैन । सडकमा दिनहुँजसो आन्दोलन भइरहेका छन् । सत्ता साझेदार दल कांग्रेसभित्र असन्तुष्टी बढ्दै छ । यो अवस्थामा देउवाको विदेश भ्रमण कतै सत्ता फेरबदलको रणनीतिका लागि त होइन भन्ने विषयले प्रवेश पाएको हो । यसले सरकारको नेतृत्वकर्ता नेकपा एमालेसमेत सशंकित बनेको छ । तर सरकार परिवर्तन भइहाल्ने ठोस आधार भने छैन ।