पर्साको वीरगञज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगन्ज’ अभियानअन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सीसी क्यामरा सञ्जालजाल विस्तारका लागि १७ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको छ । महानगरभित्रका १६ वटा वाणिज्य बैंकले संयुक्त रूपमा सहयोग गरेका हुन् ।सोमबार बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा हस्तान्तरण गरिएको छ । ‘सेफर वीरगन्ज’का संयोजक मनोज दास तथा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई बैंकहरुको तर्फबाट बैंकर्स एसोसिएसन पर्साका अध्यक्ष एवं लक्ष्मी बैंक वीरगन्ज शाखा प्रमुख रोहिणी आचार्यले हस्तान्तरण गरेका थिए ।
सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगन्जलाई सुरक्षित र व्यवस्थित सहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख राजेशमान सिंहले बताए । महानगरपालिकाको पहल एवं सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगन्जका विभिन्न स्थानमा थप नयाँ क्यामरा जडान गरिने उनले बताए ।प्रहरी उपरीक्षक मिश्रले सीसी क्यामराले सहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उक्त अभियानको प्रशंसा गरे । अभियानमा सबैभन्दा ठूलो योगदान नबिल बैंकले ३ लाख रुपैयाँको गरेको छ । नव जनप्रहार,सभार ।