रौतहट जिल्ला गाैर अस्पतालको उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनापछि प्रादेशिक अस्पताल गौरले सोधेको स्पष्टीकरणको सामना नगरी डा. पंकजकुमार साहले राजीनामा दिएर सेवा त्यागेका छन्।सरकारी अस्पतालबाट निजी अस्पतालमा लगेर शल्यक्रिया गर्दा मृत्यु भएको भन्दै अस्पतालले डा. साहलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको थियो।
गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको शल्यक्रियाका क्रममा मृत्यु भएपछि प्रादेशिक अस्पतालका डा. पंकजलाई हटाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले जानकारी दिए। ‘डा. पंकजले गम्भीर लापरबाही गरेका हुन् कि होइन भनेर हामीले स्पष्टीकरण मागेका थियौँ। उहाँले स्पष्टीकरणको जवाफ दिनुको साटो राजीनामा दिनुभयो,’ हास्मीले भने, ‘उहाँले सामना गर्नु भएन।’करारमा नियुक्त डा. साह केही दिनअघि अस्पताल छाडिसकेका छन्।