मदन ठाकुर रौतहट २५ वैशाख २०८२/
सर्लाहीको बागमती नदी क्षेत्रमा सरकारी संयन्त्रकै संलग्नतामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ। नदीको पूर्वी किनारमा अवैध रूपमा सञ्चालनमा रहेका मोबाइल क्रसर उद्योगहरूलाई सुरक्षा निकायको संरक्षणमा दोहन कार्य तीव्र पारिएको स्थानीयको आरोप छ। सर्लाहीको बसबरिया गाउँपालिका–२ अन्तर्गत मानपुर गाउँ पश्चिमको बागमती नदी किनारमा हाल पाँचवटा अवैध मोबाइल क्रसर सञ्चालनमा छन् । क्रसर माफियाले स्थानीय प्रहरी चौकी मानपुर, इलाका प्रहरी कार्यालय बरहथवा, सशस्त्र प्रहरी बेस मनुसमारा, सुन्दरपुर चहोर्वाको सशस्त्र बेससहित जिल्लाका उच्च सुरक्षा प्रमुखहरूलाई समेत प्रभावमा पारेर अवैध उत्खननलाई निरन्तरता दिइरहेको स्थानीयले बताएका छन् । बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन यादवले बालुवा, ढुंगा, गिट्टी निकासीका लागि कुनै पनि ठेक्का नदिएको स्पष्ट पारेका छन् । उनका अनुसार गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन बिना कुनै पनि ठेक्का दिने नीति नलिए पनि ठूलो रकमको लेनदेनमार्फत स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा नदी दोहन भइरहेको हो । २०५० सालको बाढी र अहिलेको दोहन” २०५० सालको भीषण बाढीले चुरे क्षेत्रबाट बगेर आएका ढुंगा-गिट्टी अहिले ‘नमरी जग्गा’ को नाममा प्रयोग हुँदै दोहन भइरहेको छ । केही किसानले आफ्नै खेतमा क्रसर लगाएर उत्खनन गरेको भन्दै प्रहरी प्रशासन समक्ष जानकारी गराए पनि, प्राविधिक कानुनको उल्लंघन गर्दै दोहन कायमै छ । यसले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरञ्जन भट्टराईले अवैध क्रसरबारे अनभिज्ञता जनाउँदै प्रश्न टार्ने प्रयास गरेका छन् । ‘अवैध रुपमा मोबाइल क्रसर लगाउन पाइन्छ ?’ भन्ने नागरिकन्यूजको प्रश्नमा उनी बोल्नै चाहेनन्।बसबरिया–२ स्थित भैसासुर घाटमा अवैध क्रसर सञ्चालनका बाबजुद कुनै पनि निकायबाट औपचारिक प्रतिवाद नहुँदा माफियाको मनोबल झनै बढेको देखिन्छ । गाउँपालिकाका उपाध्यक्ष सरिता कुमारी साहले क्रसर सञ्चालनबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइन्। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पनि क्रसरबारे जानकारी नभएको बताउँदै छिट्टै अनुगमन गरी आवश्यक कारबाहीको आश्वासन दिए।
सिमाक्षेत्र हुँदै ढुंगा-गिट्टीको तस्करी
बागमती नदीको समनपुर, गढीमाई नगरपालिका अन्तर्गत टोकारघाट लगायत स्थानहरूमा खुला रूपमा मेसिन लगाएर खोला दोहन भइरहेको छ। सातवटा मेसिन पुलको छेउमै देखिएको छ। बरहथवा, मनुसमारा, सोति, बुढीबागमती, एकादशी, लालबन्दी र हरिवन नगरपालिकासँग जोडिएका खोलाहरूमा पनि अवैध उत्खनन जारी छ । सर्लाहीको नदिया पकरी, मधुबनी, बलरा, लक्ष्मिपुर र छनकी नाकाबाट भारततर्फ ढुंगा-गिट्टीको तस्करी भइरहेको बलराका स्थानीय जवाहर झाले सुनाए। यस विषयमा प्रतिक्रिया लिन जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहलाई सम्पर्क गर्दा उनी सम्पर्कमै आउन सकेनन् । सभार ।