
सशस्त्र प्रहरीले भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिइएको हो ।
यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपालका सीमानाका र विमानस्थलमा सुरक्षा निगरानी थप बलियो बनाउने निर्णय गरेको छ । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो ।
एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको जानकारी दिए ।‘एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा नै पेट्रोलिङ गरिँदै छ,’ उनले भने । जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको उनले बताए ।
अनधिकृत घूसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको सहप्रवक्ता थापाले जानकारी दिए । ‘बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्,’ उनले भने, ‘सीमा इलाकामा आवश्यकताअनुसार आउजाउ गर्नेहरूको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने कार्य भइरहेको छ ।’थापाका अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्न र अवैध घूसपैठ रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरिँदै छ । धनुषाको विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छ । धनुषाको जटही सीमा क्षेत्रमा खटिएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, ‘हामीले सुरक्षा सतर्कता बढाएका छौँ। भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ।’विशेषगरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ। स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन्। सिमाना आसपासका बजार पनि प्रभावित भएको छ।सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए। रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ।जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ। बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ।सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो। नव जनप्रहार” सभार ।