भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रक भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख. ७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा र धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको प्रहरीले जनाएको छ । ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपुर्जा ३९८ पिस रहेका छन् । सवारी साधनसहित दोलखाको कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय चालक लक्ष्मण थामीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् ।