
सिरहा जिल्लाका प्रहरीले लागुऔषध कारोबार र अबैध रकमको ओसारपसारमा संलग्नमा पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको सिरहाका प्रहरीले बताएका छन् । पक्राउ पर्नेमा ३२ वर्षको दिनेश कुमार यादव र उनकी बहिनी २६ वर्षकी किरण कुमारी यादव रहेको सिरहाका प्रहरीले बताएको छ । यादवको साथबाट २२.९० ग्राम खैरो हिरोइनसहित नगद ५१ हजार ४५० रुपैयाँ र मोबाइल बरामद गरेको बताएको छ । अनुसन्धानका क्रममा यादवको लहान– घरबाट थप १८६ ग्राम हिरोइन, ५४ लाख १४ हजार २८५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँसहित मोबाइल चार थान र डिजिटल तराजु पनि बरामद गरेको सिरहाका प्रहरीले बताउँछन् । यसअघि पनि दिनेश यादव २०८० सालमा लागुऔषध मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी, बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतबाट आउदै गरेको कृष्ण कुमार यादव र निरज राय यादवलाई मोटरसाइकल सहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले बताएको छ । त्यतै सिरहा नगरपालिका–२ महावीर चौक नजिकै भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका संजय कारक लाई चेकजाँच गर्दा शरीरमा बाँधिएको हरियो कपडा र ब्यान्डेज’ भित्र लुकाइ राखिएको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको प्रहरीले बताएको हो । पक्राउ परेका सबैलाई अनुसन्धान कार्य जारी रहेको सिरहा प्रहरीले जनाएको छ।