रसुवामा स्याउ बोक्ने कन्टेनरमा ७ केजी ६ सय ग्राम सुन प्रहरीद्वारा बरामद भएको छ । रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै आईरहेको अवस्थामा सुन बरामद गरेको रसुवाका प्रहरीले खुलाएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको बताएको हो । रसुवा जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् । नेपाल प्रहरीको उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति पनि समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीको आधारमा जाँच गर्दा सुन भेटिएको हो । रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । बिस्कुट आकारमा रहेको सुन विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको रसुवाका प्रहरीले जनाएको छ ।