
चीनबाट ल्याएर भारत तस्करी गर्न तयारी अवस्थामा राखिएको स्याउ बरामद गर्न गएका सशस्त्र प्रहरीमाथि स्थानीयको भीडले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका छन् ।
सोमबार राति करिब ९ बजे, सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा भन्सार अधिकृत र नेपाल प्रहरीको टोलीले बलरा–५ भगवानपुरस्थित मनोज मोहनकुमार सिंहको फर्निचर उद्योगमा छापा मारेको थियो । गोप्य सूचनाका आधारमा गएको टोलीमाथि १ सयभन्दा बढी स्थानीयको भीडले अचानक आक्रमण गर्दा सुरक्षाकर्मीले हवाई फायर गर्दै स्थिति नियन्त्रणमा लिन खोजेका थिए । तर भीडको आडमा तस्करहरू स्याउ लोड गरिएका ६ वटा गाडी भारतीय सीमा पार गराउन सफल भए । सुरक्षाकर्मीले करिब ५ लाख रुपैयाँ बराबरको स्याउसहितको एउटा गाडीमात्रै नियन्त्रणमा लिनसकेको छ । घटनापछि १५ लाख रुपैयाँको सवारीसाधन र साढे ४ लाख बराबरको स्याउ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीको दाबी छ ।
डीआईजी ढकालका अनुसार चीनबाट ल्याइएका ती स्याउ भारत तस्करी गर्न लागिएको पुष्टी भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले बताएको छ ।
मुख्यालयका घुमुवा नै तस्करका मतियार सशस्त्र प्रहरीको मूख्यालयका डीएसपी सुदिप रेग्मीले मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषामा घुमुवा खटाउने गरेका छन् । सशस्त्र प्रहरी बलको महानिरीक्षक भएपछि राजु अर्यालले तानेका विवादित र आर्थिक मामिलामा मुछिएकाहरुलाई नै रेग्मीले घुमुवाका रुपमा खटाएका छन् । सशस्त्र मुख्यालयबाट रेग्मीले खटाएका घुमुवाका कारण तराईका नाका नाकाबाट तस्करी बढेको प्रष्ट छ । सोमबार राति ९ बजे सर्लाहीको मधुवनी बीओपीमा तस्करीका लागि राखिएको स्याउ बरामद गर्न सशस्त्रको टोली जानुअघि नै तस्करलाई सूचना दिने काम समेत घुमुवाले गरेको स्रोतको दाबी छ । सशस्त्रको ठूलो टोली भन्सारका कर्मचारी र नेपाल प्रहरीको समेत मद्दत लिएर स्याउ गोदाममा छापा मार्न आउने सूचना पाएपछि तस्करले स्थानीय भेला गरी पेट्रोल बम नै प्रहार गरेर ६ गाडी स्याउ भारततर्फ भगाउन सफल भएका थिए ।
सशस्त्र मुख्यालयका डीएसपी रेग्मीले सर्लाहीमा सहायक हवल्दार रोशन मिश्र र राजीव यादवलाई घुमुवाका रुपमा खटाएका छन् भने बारामा सन्तोष यादवलाई पठाएका छन् । उनीहरुले तस्करसँग आईजीपी सचिवालयकै डीएसपीले खटाएको भन्दै दररेट माग्ने गरेका छन् ।
बीओपी, गण र बाहिनीपति समेत मुख्यालयबाटै घुमुवा खटाएपछि तस्करीको सामान बरामद गर्न हच्किने गरेका छन् । सोमबार राति छिन्नमस्ता गणकै डीआईजी कृष्ण ढकालले तस्करीको स्याउ गोदाममा छापा हान्न लागेको सूचना तस्करलाई पहिल्यै दिने काम मुख्यालयबाटै पठाएका घुमुवाहरुले गरेको आरोप छ । सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकालले मधुवनी बीओपीका इन्चार्ज लगायतका सशस्त्र प्रहरीमाथि स्याउ तस्करीको सम्बन्धमा छानबिन गरिरहेको बताए । मधुवनी बीओपीका इन्चार्ज इन्चार्ज लोकेन्द्रबहादुर चन्द छन् । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखामा ३ बर्षदेखि नै डीएसपी सुदीप रेग्मीलाई राखिएको छ । सशस्त्रका अधिकृतको एक बर्षमा सरुवा हुने गर्दछ । तर रेग्मीलाई ३ बर्षदेखि सो शाखामा राखिएको छ । नेपाल फेस,सभार ।