बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ । कानुनी रूपमा लिखित तथा ट्रायल परीक्षा पास गरेपछि मात्र लाइसेन्स प्राप्त गर्नुपर्ने प्रावधान भए पनि आर्थिक लेनदेनमार्फत फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स उपलब्ध गराइने गरेको आरोप लागेको छ ।
सूत्रका अनुसार, यातायात व्यवस्था कार्यालय बाराका प्रमुख अविन्दर दास, ट्रायल प्रमुख र कार्यालयका कर्मचारीहरु मिलेर ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई समेत लाइसेन्स वितरण गर्ने गरेको पाइएको छ।
कार्यालयले तोकिएको दररेट अनुसार रकम बुझाउने उम्मेदवारहरूलाई ट्रायलमा पास गराउने, परीक्षाका नतिजा हेरफेर गर्ने तथा निश्चित शुल्क लिई लाइसेन्स प्रदान गर्ने कार्य भइरहेको स्रोतको दाबी रहेको छ ।
यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्यो सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त भएको छ ।
कार्यालय प्रमुख अविन्दर दास आए देखि सुक्ष्म तरिकाले भ्रष्टाचार भईरहेको तथ्य बाहिरिएको छ ।
सो कार्यालयमा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताएका छन् ।
लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताएको छ ।
ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख (प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष)को नेतृत्वमा मेकानिकल सुपरभाईजर (ईन्जिनियर) सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरु निरीक्षकको हैसियतमा संख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् । सो कार्यालयमा तत्कालिन अवस्थामा लिखित प्रमुख र ट्रायल प्रमुख पनि रहेका छन् ,भने हालको अवस्थामा लिखित प्रमुख…. र ट्रायल प्रमुख…. मेकानिकल सुपरभाईजर ….. रहेका छन् । परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर … र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सहित तीन जना रहेका छन् । सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् ।
प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताएको छ । प्रमुख दास रौतहट यातायात कार्यालयमा कार्यरत्त रहंदा आफु सँगै राख्ने गरेका आफ्ना नातेदारलाई बारा जिल्लामा आउंदा पनि लिएर आएका छन् । प्रमुख दासका बढी विश्वासपात्रका रुपमा बिचाैलीय दास नै रहेको स्रोतको भनाई रहेको छ । नक्कली प्रयोगात्मक परीक्षाका परीक्षार्थीहरुलाई व्यवस्थापन देखि लिएर असुली सम्मको जिम्मा प्रमुख दासले बिचाैलिया लाई नै दिने गरेको बताईन्छ ।
मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षकलाई भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर को भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ । प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षकलाई जाने गरेको स्रोतले जनाएको छ । यातायात कार्यालय कलैयाका भ्रष्टाचार सन्दर्भमा त्यहाँका केही राजनैतिक दल र युवाहरुको जमातले केही महिना अघि विरोध जनाएको थियो ।
कार्यालय प्रमुख अविन्दर दास यसअघि वीरगन्जमा नायब सुब्बा रहँदा नेपालीकरण प्रक्रियामा अनियमितता गरेको आरोपमा उनी अख्तियार बाट निलम्बनमा परेका थिए। उनी रौतहट हुदा पनि लुटतन्त्रलाई निरन्तरता दिएको बताइन्छ ।
उनी बारामा आएपछि पनि त्यस्तै गतिविधि दोहोरिएको आरोप लाग्दै आएको छ ।
यस विषयमा कार्यालय प्रमुख अविन्दर दासले भने आरोपको खण्डन गरेका छन् । उनले कार्यालयमा अहिले सबै काम पारदर्शी रूपमा भइरहेको दाबी गर्दै भने, “रकम लिएर लाइसेन्स वितरण गरेको भन्ने कुरा गलत हो । पछिल्लो समय के भइरहेको थियो, मलाई थाहा छैन । अहिले सेवाग्राहीहरूको काम पारदर्शी रूपमा भइरहेको दासले बताएका छन् ।” तर, स्थानीय सेवाग्राहीहरू र स्रोतहरूले भने यो दाबीलाई अस्वीकार गर्दै यातायात व्यवस्था कार्यालयमा अनियमितता अझै जारी रहेको बताएका छन्।
सेवाग्राहीहरु मारमा,परेका छन्, छानबिनको माग गर्दै सेवाग्राहीहरूले यातायात कार्यालयमा पारदर्शिता नरहेको गुनासो गर्दै आएका छन् । कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिकहरू अन्यायमा परेको, तर आर्थिक चलखेल गर्न सक्नेहरू सजिलै लाइसेन्स प्राप्त गरिरहेको आरोप पनि लाग्दै आएको छ ।
यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सर्वसाधारण तथा सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।