विराटनगर । कोशी प्रदेशमा ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ अभियान सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयले कोशी प्रदेशको आज ( आइतबार) बाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ अभियान सुरु गरेको हो ।‘सुरक्षित सीमा, सुरक्षित जीवन’ कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सीमा क्षेत्र संवेदनशील क्षेत्र भएकाले नागरिकहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
उनका अनुसार सीमा केन्द्रित आपराधिक गतिविधि, लागूऔषधको कारोबार, अवैधानिक गतिविधि जस्ता गैह्र कानुनी कार्यलाई रोक्नका लागि नागरिक सहभागिता आवश्यक छ ।देश सीमाको सुरक्षा गर्ने जिम्मा केबल प्रहरी प्रशासनको मात्रै नभई स्वयम् सीमा क्षेत्रमा बस्ने हरेक नेपालीको रहेको हुँदा सबै मिलेर सीमाको सुरक्षा र गैह्र कानुनी गतिविधिलाई रोक्नु पर्छ ।’ मन्त्री भण्डारीले भने ।सशस्त्रका कोशी प्रदेश प्रमुख डीआइजी कुमार न्यौपानेले सीमा क्षेत्रका स्थानीय नागरिक तथा युवा विद्यार्थीहरूमा सीमा सुरक्षाको महत्त्व र सीमा सुरक्षाको आवश्यकता बारे जानकारी गराइने बताए ।
सीमा सुरक्षामा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले नागरिक र युवा वर्गमा सीमा अपराधले समाज र राष्ट्रमा पर्ने गम्भीर असरहरूको बारेमा जानकारी दिई युवाहरूलाई सही मार्गमा लाग्न प्रेरित गर्ने बताए ।
यो अभियान असार १० गतेसम्म मोरङ, सुनसरी, झापा र इलामको सीमा क्षेत्रमा सञ्चालन हुनेछ ।कार्यक्रममा सीमाको परिचय, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र सीमा सुरक्षामा समुदायको भूमिका, सीमामा विपद् व्यवस्थापन र पूर्व तयारी जस्ता विषयहरूमा कक्षा सञ्चालन तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।नेपाल प्रहरीले हातहतियार ओसारपसार, लागूऔषध दुर्व्यसन र नियन्त्रण सम्बन्धमा कक्षा दिइने छ ।सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा काम गरिरहेको छ ।सीमा सुरक्षाअन्तर्गत नेपाल –भारत अन्तर्राष्ट्रिय सीमामा २ सय ४४ वटा र नेपाल – चीन सीमामा ११ वटा गरी जम्मा २ सय ५५ वटा बोर्डर आउट पोस्टहरूको स्थापना काम गरिरहेको बताइएको छ ।यसका साथै कोशी प्रदेशमा १० वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ४८ वटा बोर्डर आउट पोस्टहरूबाट सीमा सुरक्षाको कार्य भइरहेको छ । कोशी प्रदेशका सीमावर्ती वडाका वडाध्यक्षहरूको संयोजकत्वमा ८१ वटा सीमा सहजीकरण समिति गठन गरी सीमामा भएका समस्याहरूको समाधान गरिँदै आएको छ ।
त्यस अवसरमा सशस्त्र प्रहरीले स्थानीय ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।सभार ।