
सशस्त्र प्रहरी बल नेपाल सुनसरीको धरानबाट करिब २१ सय किलोग्राम अवैध लागुऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी धरानले जनाएको छ ।
गाँजासहितको ट्रक धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानको टोलीले रोकेर जाँच गरेको थियो । चेक जाँचका क्रममा ट्रकमा तरकारी र अदुवाका बोराले छोपेर लुकाइछिपाइ ल्याइएको ७० बोरा गाँजा फेला परेको हो । ट्रकमा ३१ बोरा अदुवा र तरकारी पनि भेटिएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिने क्रममा चालकसहित संलग्न व्यक्तिहरू भने फरार भएका छन् ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा ठुलो परिमाणमा गाँजा बरामद गरिएको बताएका छन् ।