
बारामा प्रहरीले दुई क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको बाराका प्रहरीले बताएको छ ।
बाराका परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा सवारीसाधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हेटौंडाबाट आउँदै गरेको र बारा जिल्लाका प्रसौनी गण्डकतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई रोकिएर जाँच गर्ने क्रममा प्रहरीले दुई क्विन्टल १२ किलो ९२८ ग्राम गाँजा फेला पारेको बाराका प्रहरीले बताएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा गाँजा बरामद भएको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी)विजय राज पण्डितले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा गाँजा तस्कर मकवानपुर जिल्लाका थाहा नगरपालिका–४ तालुङ बस्ने २८ वर्षीय गाडी चालक रवि कार्की, र सोही पालिका–१२ टिसटुङका ४६ वर्षीय वीर बहादुर गोले, र हेटौंडा नगरपालिका–१४ उत्तरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाउँपालिका–७ आपसी चौकका ३१ वर्षीय महेश तामाङलाई रहेको बाराका प्रहरीले जानकारी दिएको छ ।